रसुवाका बाढीपीडितलाई मरिण गाउँपालिकासहित तीन संस्थाले दिए ५ लाख ५ हजार
सिन्धुली/रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाको लागि सिन्धुलीबाट सहयोगको हात अघि बढेको छ ।
मरिण गाउँपालिकासहित दुई शैक्षिक संस्थाले रसुवाका बाढीपीडितका लागि ५ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
मरिण गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट तत्काल मानवीय सहायता स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाको अनुसार बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएकाले पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको हो ।
यसैगरी भगवती माध्यमिक विद्यालयले प्रधानमन्त्री राहत कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम प्रदान गरेको हो ।
त्यस्तै सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले रसुवाका बाढीपीडितका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ ।


