हरिहरपुरगढीमा अफ्रिकन स्वाइन फिभर पुष्टि, मरिणका किसानलाई पनि सतर्क रहन आग्रह

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ मा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएपछि गाउँपालिकाले बंगुरपालक कृषकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

संक्रमण फैलिन नदिन यता मरिण गाउँपालिकाले पनि छुट्टै सूचना जारी गर्दै बंगुरपालक कृषकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका २ मा बंगुरमा रोगको शंका लागेपछि संकलन गरिएको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर, काठमाडौंमा परीक्षण गरिएको थियो । प्रयोगशालाको पीसीआर परीक्षणबाट अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको गाउँपालिकाले सूचना जारी गर्दै जानकारी दिएको हो ।

अफ्रिकन स्वाइन फिभर बंगुरमा लाग्ने भाइरसजन्य संक्रामक रोग हो । यो रोग प्रत्यक्ष सम्पर्कका साथै दूषित व्यक्ति, सवारीसाधन, उपकरण, जुत्ता–कपडा, दाना तथा अन्य माध्यमबाट छिटो फैलिन सक्ने भएकाले जैविक सुरक्षा अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले संक्रमित क्षेत्रबाट बंगुर ओसारपसार तथा बेचबिखन नगर्न र नगराउन, फार्ममा नियमित सरसफाइ तथा निःसंक्रमणका उपाय कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । बंगुर पालिएको खोर तथा फार्म परिसरमा चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायत निःसंक्रमणका सामग्री प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

त्यस्तै, रोग प्रभावित वा शंकास्पद फार्ममा अनावश्यक आवतजावत तथा सम्पर्क नगर्न र संक्रमित वा शंकास्पद फार्मबाट आएका व्यक्ति, सवारीसाधन तथा उपकरणलाई उचित सरसफाइ र निःसंक्रमण नगरी आफ्नो फार्ममा प्रवेश नगराउन अनुरोध गरिएको छ । रोगको शंका लागेको बंगुरलाई बथानबाट छुट्याएर अलग्गै राख्न पनि भनिएको छ ।

यता मरिण गाउँपालिकाले पनि छुट्टै सूचना जारी गर्दै बंगुरपालक कृषकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मरिणले संक्रमित क्षेत्रबाट बंगुर ओसारपसार तथा बेचबिखन नगर्न, फार्ममा जैविक सुरक्षा कायम गर्न र शंकास्पद बंगुरलाई तत्काल अलग राख्न अनुरोध गरेको छ।

बंगुरमा अचानक मृत्यु, उच्च ज्वरो, दाना नखाने, कमजोरी, छालामा रातो वा निलो दाग, वान्ता वा पखाला जस्ता लक्षण देखिएमा तत्काल पशु विकास शाखा वा पशु सेवा शाखामा जानकारी गराउन दुवै स्थानीय तहले आग्रह गरेका छन् ।

रोगको संक्रमण थप फैलिन नदिन कृषकले फार्ममा प्रवेश गर्ने व्यक्ति, सवारीसाधन तथा उपकरणको सरसफाइ र निःसंक्रमणमा विशेष ध्यान दिन स्थानीय तहहरुले आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *