नयाँ भवनबाट सेवा दिँदै जिल्ला समन्वय समिति सिन्धुली

सिन्धुली/जिल्ला समन्वय समिति सिन्धुलीले शुक्रबारदेखि नवनिर्मित प्रशासकीय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ ।

जिल्ला सभाको पाँचौँ अधिवेशनको अवसर पारेर नयाँ भवनको उद्घाटनसँगै सेवा शुभारम्भ गरिएको हो ।

नयाँ भवनबाट सेवा शुभारम्भ गर्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले चारवर्षे कार्यकाल पूरा गरी अन्तिम वर्षमा प्रवेश गर्दा निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता र नागरिकको अपेक्षा अनुसार सबै काम सम्पन्न गर्न नसकिएको स्वीकार गर्नु भएको छ । त्यस्तै उहाँले आगामी दिनमा उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा समितिका उपप्रमुख शान्ता कार्कीले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारबाट निःशर्त चालु अनुदानबापत १ करोड ५१ लाख १२ हजार रुपैयाँ, बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ र बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ प्राप्त हुने छ ।

त्यसैगरी कार्यसञ्चालन तथा विविध कोषमा ४० लाख ५४ हजार २ सय १९ रुपैयाँ र धरौटीतर्फ २२ लाख ६४ हजार ८ सय ८५ रुपैयाँ आयस्रोत रहेको उहाँले जानकारी दिनुभयो ।

नवनिर्मित भवनले जिल्लाका स्थानीय तहबीच समन्वय, सहजीकरण तथा अनुगमनलाई प्रभावकारी बनाउनुका साथै विकास निर्माणका काममा सहकार्य बढाउने अपेक्षा गरिएको छ । समन्वय समितिका अनुसार नयाँ संरचनाले सुशासित, समुन्नत र समृद्ध सिन्धुली निर्माणका लागि आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्न थप सहज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *