असारमा ४१ मुद्दा, लागूऔषधका १६ आरोपी पक्राउ
सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा असार महिनामा विभिन्न घटनासँग सम्बन्धित ४१ वटा मुद्दा दर्ता भएका छन् ।
तीमध्ये लागूऔषध सम्बन्धी मुद्दा सबैभन्दा बढी रहेको छ । लागूऔषधका ११ मुद्दामा १६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार दर्ता भएका मुद्दामध्ये केही फछ्र्यौट भएका छन् भने केही अनुसन्धानकै क्रममा छन् ।
ज्यान मार्ने उद्योगका तीन मुद्दामध्ये दुई वटा फछ्र्यौट भएका छन् भने एउटा बाँकी छ । झुन्डिएर आत्महत्या, बेवारिसे ज्यान, भवितव्य ज्यान तथा कुटपिट र अंगभंगसम्बन्धी मुद्दा पनि बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अभद्र व्यवहारका तीन, चोरीका दुई, लागूऔषधका ११, सवारी ज्यानका तीन, क्रिप्टो तथा आर्थिक कसुरको एक र सवारी अंगभंगको एक मुद्दा फछ्र्यौट भएका छन् । बैंकिङ कसुरका चार मुद्दामध्ये एउटा फछ्र्यौट भएको छ भने तीन वटा बाँकी छन् ।
असारमा लागूऔषध सम्बन्धी ११ मुद्दामा १६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट १३ दशमलव ४१ ग्राम खैरो हिरोइन, एक किलो १२९ ग्राम गाँजा, ६ दशमलव ५७० ग्राम चरेस र एक हजार ६७९ ट्याबलेट बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार असार महिनामा पाँच जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा तीन पुरुष, एक महिला र एक बालक छन् ।
त्यस्तै प्रहरीको अनुसार असार महिनामा सिन्धुलीमा १० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १२ वटा सवारी साधन संलग्न हुँदा दुई जनाको मृत्यु र २२ जना घाइते भएको थियो ।दुर्घटनामा परेका २४ जनाको प्रहरीले उद्धार गरेको छ भने तीन जना अझै बेपत्ता रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रष्ठको अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी १० उजुरीमा पीडित र पीडक गरी २५ जना जोडिएका छन् । यस्तै असारमा २५ जना हराएको विवरण प्रहरीमा आएको थियो।
हराउनेमा १४ महिला, पाँच बालिका, तीन बालक र तीन पुरुष थिए। तीमध्ये १९ जना फेला परिसकेका छन् भने बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घरेलु हिंसासम्बन्धी १४ उजुरी परेका थिए। तीमध्ये १० वटा प्रकरणमा मिलापत्र गरिएको छ भने दुई वटा अदालत पठाइएको छ ।प्रहरीमा प्रत्यक्ष परेका ९१ उजुरीमध्ये ८५फछ्र्यौट भएका छन् भने ६ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


