अब मरिणमै भूमि प्रशासन र नापी सेवा

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा भूमि प्रशासन तथा नापी शाखाको शुभारम्भ गरिएको छ ।

गाउँपालिका अध्यक्ष विमर्श मुक्तानको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गर्दै शाखाको औपचारिक शुभारम्भ गरिएको हो ।

शाखा सञ्चालनमा आएसँगै पालिकावासीलाई नक्सा वितरण समेत गरिएको छ । यससँगै आगामी दिनमा अब भूमि प्रशासन तथा नापी सम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने स्थानीयवासीको बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकामै शाखा स्थापना भएपछि जग्गा प्रशासन, नापी तथा नक्सा सम्बन्धी सेवा स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध हुने गाउँपालिकाले जनकारी दिएको छ ।

स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै भूमि प्रशासन तथा नापी सम्बन्धी काममा नागरिकको पहुँच थप सहज हुने विश्वास समेत गरिएको छ ।

शाखा शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला माझी, भूमि प्रशासन कार्यालय सिन्धुलीका प्रमुख कुमारबहादुर खड्का, नापी कार्यालय सिन्धुलीका प्रमुख आशिष चालिसे, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठल गायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, ७ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रमुख, गाउँपालिकाका कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *