मरिणमा बजार अनुगमन : ३३ पसलबाट ४२ हजारभन्दा बढीका म्याद गुज्रिएका सामान नष्ट

 

सिन्धुली /सिन्धुलीको मरिण गाउँपालिका ६ का विभिन्न बजारमा गरिएको बजार अनुगमनका क्रममा ३३ वटा पसल तथा व्यावसायिक प्रतिष्ठानको निरीक्षण गरिएको छ ।

मरिण गाउँपालिकाको उपभोक्ता हित संरक्षण समितिका संयोजक विमला माझीको संयोजकत्वमा धमिले बजार, भुताहा र नयाँबस्ती बजारलगायत क्षेत्रमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा तीन वटा पसलबाट रु. ४२ हजार ७३८ बराबरका म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्तु जफत गरी नष्ट गरिएको पालिकाले जानकारी दिएको छ ।

पालिकाको अनुसार अनुगमन टोलीले किराना, मासु, हार्डवेयर, कपडा, मेडिकल, शैलुन, सुनचाँदी, चप्पल पसल तथा होटलल गायत विभिन्न व्यवसायको निरीक्षण गरेको थियो ।
व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, वस्तुको गुणस्तर र म्याद, खाद्य वस्तुको लेबलिङ, सरसफाइ तथा उपभोक्ता हितसम्बन्धी प्रचलित कानुनको पालना भए–नभएको विषयमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा व्यवसाय सञ्चालनमा देखिएका कमी–कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा सुझाव दिइएको थियो ।

म्याद नाघेका खाद्य तथा उपभोग्य वस्तु बिक्रीका लागि राखिएको पाइएपछि तीन वटा पसलबाट ती सामग्री जफत गरिएको थियो । जफत गरिएका सामानको मूल्य रु. ४२ हजार ७३८ रहेको र इलाका प्रहरी कार्यालय कपिलाकोटको रोहवरमा नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले मरिण क्षेत्रका सम्पूर्ण व्यवसायीलाई म्याद ननाघेका तथा गुणस्तरीय वस्तु मात्र बिक्री–वितरण गर्न आग्रह गरेको छ । साथै वस्तुको उचित मूल्य कायम गर्न, मूल्यसूची अनिवार्य रूपमा राख्न, पसल तथा व्यावसायिक स्थल सफा र व्यवस्थित राख्न तथा व्यवसाय दर्ता र नवीकरण अद्यावधिक गर्न आग्रह गरिएको छ ।

उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर जिम्मेवार तथा मर्यादित ढङ्गले व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गर्दै गाउँपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई प्रभावकारी बनाउने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *