राजस्व छुटले बढायो महिलाको नाममा सम्पत्ति दर्ता
सिन्धुली/महिलाको नाममा सम्पत्ति दर्ता गर्ने क्रम सिन्धुलीमा बढ्दै गएको छ ।
भूमि प्रशासन कार्यालय सिन्धुलीको अनुसार आर्थिक वर्ष २०८२/८३ मा महिलाको नाममा सम्पत्ति दर्ता गर्दा २ हजार ७४ जनाले राजस्व छुटको सुविधा पाएका छन् ।
कार्यालयको तथ्यांक अनुसार छुट पाउने मध्ये १ हजार ३४५ जना शहरी र ७ सय २९ जना ग्रामीण क्षेत्रका महिलाहरु रहेका छन् । यसबाट ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा महिलाको नाममा सम्पत्ति दर्ता बढी भइरहेको देखिएको छ ।
यस्तै दलित तथा जनजाति शीर्षक अन्तर्गत ग्रामीणका ७१ जना र शहरीका ६६ जना लाभान्वित भएका छन् । अपाङ्गता भएका व्यक्तिको शीर्षकमा ग्रामीणका १ जनाले छुट पाएका छन् भने शहरी क्षेत्रमा यस शीर्षकमा कुनै व्यक्तिले लाभ लिएका छैनन् । सहित परिवार शीर्षकमा भने यस वर्ष कसैले पनि लाभ लिएका छैनन् ।
त्यसैगरी कार्यालको अनुसार अन्य शीर्षक अन्तर्गत ग्रामीणका १ हजार १ सय २८ र शहरीका १ हजार १ सय १८ जनाले राजस्वमा छुट सुविधा लिएको देखिएको छ ।
भूमि प्रशासन कार्यालय सिन्धुलीको अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ६ हजार ३ सय ८६ वटा लिखत पारित भएका छन् । तीमध्ये ४ हजार ४ सय ५८ वटा शहरी र १ हजार ९ सय २८ वटा ग्रामीण क्षेत्रको रहेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयको अनुसार महिलाको नाममा सम्पत्ति दर्ता गर्न प्रोत्साहन स्वरूप सरकारले उपलब्ध गराउँदै आएको राजस्व छुटका कारण महिलाको सम्पत्ति स्वामित्व बढ्दै गएको छ । यस कार्यक्रमले महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र सम्पत्तिमा उनीहरूको पहुँच विस्तार गर्न सहयोग पुगेको छ ।


