सिन्धुलीमा एक वर्षमा २८२ जना हराए, चार अझै सम्पर्कविहीन
सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीको वार्षिक तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा २८२ जना व्यक्ति हराएको उजुरी दर्ता भएको छ । तीमध्ये २७८ जना फेला परिसकेका छन् भने चार जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनकारी दिएको छ ।
प्रहरीको तथ्यांक अनुसार हराउनेमा महिला र बालबालिकाको संख्या बढी रहेको छ । हराएका मध्ये १३२ जना महिला, ४० जना पुरुष, आठ जना ज्येष्ठ नागरिक र १०२ जना बालबालिका रहेका छन् । त्यस्तै फेला परेकामध्ये १३० जना महिला, ३९ जना पुरुष, सात जना ज्येष्ठ नागरिक र १०२ जना बालबालिका रहेका छन् ।
स्थानीय तहगत विवरण अनुसार सबैभन्दा बढी व्यक्ति कमलामाई नगरपालिकाबाट हराएका छन् । कमलामाई नगरपालिकाबाट एक वर्षको अवधिमा ९३ जना हराएकोमा ९१ जना फेला परिसकेका छन् भने दुई जनाको खोजी जारी रहेको छ ।
त्यस्तै दुधौली नगरपालिकाबाट ६७ जना हराएकोमा ६६ जना फेला परेका छन् भने एक जनाको खोजी भइरहेको छ । तीनपाटन गाउँपालिकाबाट २९ जना हराएकोमा २८ जना फेला परेका छन् भने एक जनाको खोजी जारी छ ।
त्यस्तै गोलन्जोर गाउँपालिकाबाट २६ जना, हरिहरपुरगढी गाउँपालिकाबाट १७ जना, घ्याङलेख गाउँपालिकाबाट १४ जना, फिक्कल गाउँपालिकाबाट ११ जना, सुनकोशी गाउँपालिकाबाट सात जना र मरिण गाउँपालिकाबाट चार जना हराएका थिए । यी स्थानीय तहबाट हराएका अधिकांश व्यक्ति प्रहरीको खोजीपछि फेला परिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार हालसम्म फेला नपरेकामध्ये कमलामाई नगरपालिका ६ का ३८ वर्षीय बिक्रम विश्वकर्मा, कमलामाई नगरपालिका ५ मधुटारका अन्दाजी २९ वर्षीय अम्बिका विश्वकर्मा, तीनपाटन गाउँपालिकाका ९ वर्षीय रमेश सार्की र एक ८२ वर्षीय ज्येष्ठ नागरिक रहेका छन् ।
प्रहरीले उनीहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठले सिन्धुली खरलाई जानकारी दिनुभयो । उहाँको अनुसार बेपत्ता भएका व्यक्तिका परिवारसँग नियमित सम्पर्क गरी थप सूचना संकलन गर्ने तथा सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हराएका व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्दै विभिन्न प्रहरी इकाइ, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी खोजतलास अभियान सञ्चालन समेत गरीरहेको उहाँले बताउनुभयो ।श्रेष्ठलको अनुसार फेला नपरेका व्यक्तिको खोजीका प्रहरीले हरेक महिनामा दुई पटक बेपत्ता भएका व्यक्तिका आफन्तसँग सम्पर्क गरी उनीहरूको अवस्था, प्राप्त नयाँ सूचना र खोजी कार्यको प्रगतिबारे जानकारी लिने गरेको जनाएको छ ।
कुनै व्यक्ति हराएको अवस्थामा तत्काल प्रहरीलाई जानकारी गराउँदा खोजी कार्य प्रभावकारी बनाउन सहयोग पुग्ने प्रहरीले जनाएको छ । हराएको व्यक्तिको फोटो, पहिचान खुल्ने विवरण, पछिल्लो पटक देखिएको स्थान र अन्य आवश्यक सूचनाले खोजी कार्यमा सहज हुने प्रहरीको भनाइ छ ।


