सिन्धुलीमा एक वर्षमा ६६ वटा मुद्दा दर्ता
सिन्धुली/सिन्धुलीमा लागुऔषधको प्रयोगसँगै ओसारपसार पनि बढ्दै गएको देखिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा लागुऔषध सम्बन्धी ६६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयको अनुसार उक्त मुद्दामा संलग्न १०७ जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएकोे छ ।
सोही अवधिमा ८११ दशमलव १४ ग्राम खैरो हेरोइन, ११ किलो ८६२ ग्राम गाँजा, १ हजार ४६२ पिस ट्याब्लेट, १०० एम्पुल तथा ७३ बोतल लागुऔषध समेत बरामद गरिएको कार्यालयले जानकारी दिएको छ । बरामद भएका लागुऔषध मध्ये खैरो हेरोइन जस्तो महँगो र घातक पदार्थकरो मात्रा उल्लेख्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार लागुऔषधका मुद्दामा विशेषगरी १७ देखि ३० वर्ष उमेर समूहका किशोर,किशोरी तथा युवाको संलग्नता बढी देखिएको छ । अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले राजमार्ग क्षेत्रमा निगरानी, चेकजाँच र अनुसन्धानलाई थप प्रभावकारी समेत बनाइ रहेको छ ।
प्रहरीले सार्वजनिक गरेको तीन वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ सम्म आइपुग्दा जिल्लामा लागुऔषध सम्बन्धी मुद्दा १६४ प्रतिशतले वृद्धि भएको देखिएको छ । पछिल्लो वर्ष बरामद भएको ८११ दशमलव १४ ग्राम खैरो हेरोइन, ठूलो परिमाणमा गाँजा, ट्याब्लेट, एम्पुलकोे अवैध कारोबार अझै बढ्दै गएको छ ।
प्रहरीले लागुऔषध नियन्त्रणका लागि समुदाय, स्थानीय तह, विद्यालय तथा अभिभावकसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै राजमार्ग केन्द्रित निगरानीलाई थप कडा बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रष्ठले जानकारी दिनुभयो ।


