सिन्धुलीका ९ पालिकाको बेरुजु :कुनमा कति ?
सिन्धुली/महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेसँगै सिन्धुलीका स्थानीय तहहरूको आर्थिक अनुशासनको अवस्था पनि बाहिर आएको छ ।
प्रतिवेदनअनुसार जिल्लाका नौ स्थानीय तहमध्ये आर्थिक वर्ष २०८१/०८२ मा सबै भन्दा धेरै बेरुजु तीनपाटन गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम घ्याङलेख गाउँपालिकामा रहेको छ ।महालेखा परीक्षकको कार्यालयले गत वैशाख ३१ गते स्थानीय तहलाई अन्तिम लेखापरीक्षण प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनले स्थानीय तहहरूको आयव्यय परीक्षणका क्रममा असुल गर्नुपर्ने रकम, प्रमाण कागजात नपुगेका खर्च र नियमित गर्नुपर्ने भुक्तानी तथा पेश्की फछ्र्योट हुन बाँकी रकम बेरुजु भएको हो ।
सबैभन्दा बढी बेरुजु जिल्लाको तीनपाटन गाउँपालिकामा देखिएको छ । गाउँपालिकाको रु. १ अर्ब ९३ करोड ५३ लाख २ हजारको आय–व्यय परीक्षण गर्दा प्रारम्भिक रूपमा रु. ९ करोड ६५ लाख ५ हजार बेरुजु देखिएको थियो । त्यसमध्ये रु. ४५ लाख १४ हजार फछ्र्योट भएपछि चालु वर्षको बेरुजु रु. ९ करोड १९ लाख ९१ हजार कायम भएको छ ।
तीनपाटनमा असुल गर्नुपर्ने रु. १ करोड ३२ लाख १५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. ६ करोड ४८ लाख ३० हजार, नियमित गर्नुपर्ने रु. १ करोड ३१ लाख ४ हजार तथा पेश्की बाँकी रु. ८ लाख ४२ हजार रहेको छ । विगत वर्षको बेरुजुसमेत जोड्दा गाउँपालिकाको अद्यावधिक बेरुजु रु. ४५ करोड २९ लाख ३७ हजार पुगेको छ ।
बेरुजु बढी हुने स्थानीय तहको दोस्रो स्थानमा हरिहरपुरगढी गाउँपालिका छ । त्यहाँ रु. ६ करोड ६४ लाख ६० हजार बेरुजु कायम भएको छ । प्रतिवेदनअनुसार गाउँपालिकाको कुल अद्यावधिक बेरुजु रु. १५ करोड ६० लाख ८० हजार पुगेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको गोलन्जोर गाउँपालिकामा रु. ४ करोड ७७ लाख ५५ हजार बेरुजु देखिएको छ । गोलन्जोरको अद्यावधिक बेरुजु रु. १३ करोड ५२ लाख ३१ हजार पुगेको छ ।
मरिण गाउँपालिकामा चालु वर्ष रु. ३ करोड ८३ लाख २६ हजार बेरुजु कायम भएको छ। विगत वर्षको बेरुजुसहित गाउँपालिकाको कुल अद्यावधिक बेरुजु रु. १४ करोड ४९ लाख ५ हजार पुगेको छ ।
त्यसैगरी नगरपालिका कमलामाईमा चालु वर्ष रु. २ करोड ५२ लाख २८ हजार बेरुजु देखिएको छ। नगरपालिकाको अद्यावधिक बेरुजु रु. १२ करोड ८२ हजार पुगेको छ ।
सुनकोशी गाउँपालिकामा रु. २ करोड १९ लाख २७ हजार बेरुजु देखिएको छ । गाउँपालिकाले लेखापरीक्षणका क्रममा कुनै प्रतिक्रिया नदिएको प्रतिवेदनमा उल्लेख छ । सुनकोशीको अद्यावधिक बेरुजु भने रु. २४ करोड ७ लाख ८१ हजार पुगेको छ ।
दुधौली नगरपालिकामा रु. २ करोड ११ लाख ६८ हजार तथा फिक्कल गाउँपालिकामा रु. १ करोड ५० लाख ४८ हजार बेरुजु कायम भएको छ। फिक्कलको कुल अद्यावधिक बेरुजु रु. ५ करोड ८० लाख ७६ हजार रहेको छ ।
साथै जिल्लाकै सबैभन्दा कम बेरुजु आर्थिक वर्ष २०८१/०८२ मा घ्याङलेख गाउँपालिकामा देखिएको छ । गाउँपालिकामा रु. ७८ लाख ७७ हजार बेरुजु कायम भए पनि विगत वर्षको बेरुजुसहित कुल अद्यावधिक बेरुजु भने रु. १४ करोड ९० लाख ६८ हजार पुगेको छ ।


