सिन्धुलीमा दुर्घटना घटे,मदन भण्डारी राजमार्गमा जोखिम बढ्दो
सिन्धुली/सिन्धुलीमा पछिल्ला तीन आर्थिक वर्षयता सवारी दुर्घटनाको दर घट्दो क्रममा देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को तथ्याङ्कअनुसार दुर्घटनाको सङ्ख्या, मृत्यु तथा घाइते हुनेको दर अघिल्ला वर्षहरुको तुलनामा घटेको हो ।
कार्यालयको अनुसार आर्थिक वर्ष २०८२/०८३ मा बीपी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा जिल्लाका भित्री सडकमा १४६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने ७६ जना गम्भीर घाइते भएका छन् । त्यस्तै २७० जना सामान्य घाइते र वर्षभरिमा सवारी दुर्घटनाका कारण दुई वटा पशुचौपायाको समेत मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।
पछिल्ला तीन आर्थिक वर्षको तुलना गर्दा दुर्घटनाको सङ्ख्या घट्दो देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १७५ वटा दुर्घटनामा २५ जनाको मृत्यु, १०७ जना गम्भीर र २८९ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटनाको सङ्ख्या बढेर २०५ पुगेको थियो । उक्त वर्ष ३० जनाको मृत्यु, २४३ जना गम्भीर घाइते र ४३० जना सामान्य घाइते भएका थिए । तर आर्थिक वर्ष २०८२/०८३ मा दुर्घटनाको सङ्ख्या घटेर १४६ मा झरेको छ भने गम्भीर घाइतेको सङ्ख्या २४३ बाट ७६ र सामान्य घाइतेको सङ्ख्या ४३० बाट २७० मा सीमित भएको छ ।
गत आर्थिक वर्षको मासिक विवरण अनुसार असोजमा सबैभन्दा बढी २० वटा सवारी दुर्घटना भएका छन् । साउनमा १०, भदौमा १५, कात्तिकमा १३, मंसिरमा १०, पुसमा १६, माघमा ६, फागुनमा १४, चैतमा ६, वैशाखमा १२, जेठमा ८ र असारमा १६ वटा दुर्घटना भएको कार्यालयले जनकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालकृष्ण प्रधानको अनुसार सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम, नियमित ट्राफिक निगरानी तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरु माथिको कडाइका कारण दुर्घटना न्यूनीकरणमा सकारात्मक परिणाम देखिन थालेको हो । आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयले चार हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र ती कार्यक्रमबाट चार लाखभन्दा बढी सर्वसाधारण लाभान्वित भएका उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा विद्यालयस्तरीय ट्राफिक शिक्षा, सडक नाटक, सार्वजनिक स्थानमा होर्डिङ बोर्ड स्थापना, चालक तथा सर्वसाधारणलाई लक्षित जनचेतनामूलक अभियान तथा नियमित ट्राफिक जाँच सञ्चालन हुँदै आएको छ ।
कार्यालयको अनुसार जिल्लामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन (मापसे), तीव्र गति र चालकको लापरबाही हुन् ।पछिल्ला वर्षसम्म धेरैजसो दुर्घटना बीपी राजमार्गमा हुने गरे पनि पछिल्ला केही वर्षयता मदन भण्डारी राजमार्गमा दुर्घटनाको सङ्ख्या निकै बढेको छ । जिल्लामा सञ्चालन हुने सवारीमध्ये मोटरसाइकल सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
प्रहरी निरीक्षक प्रधानले चालकले सवारी सञ्चालन अघि सवारी साधनको प्राविधिक अवस्था जाँच गर्ने, मापसे गरेर सवारी नचलाउने, तोकिएको गति सीमा पालना गर्ने, मोटरसाइकल तथा स्कुटर चालकले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्ने र पैदल यात्रुले सडक पार गर्दा सावधानी अपनाउने हो भने दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो ।
उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयाससँगै चालक, यात्रु तथा सर्वसाधारण सबैको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।


