फुटपाथ पैदलयात्रीका लागि हो, व्यापारका लागि होइन : नगर प्रमुख पोखरेल

सिन्धुली/कमलामाई नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउन फुटपाथ तथा सडक अतिक्रमण नगर्न व्यवसायीलाई आग्रह गरेको छ ।

नगरपालिकाले आज शुक्रबार सूचना जारी गर्दै पैदलयात्रीका लागि निर्माण गरिएको फुटपाथमा व्यापारिक सामग्री राख्ने तथा सडक अतिक्रमण गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेको हो ।

नगरपालिकाका अनुसार फुटपाथमा पसलका सामान राख्ने, सडक साँघुरो बनाउने तथा सार्वजनिक आवागमनमा अवरोध पु¥याउने गतिविधिका कारण पैदलयात्रीलाई सास्ती हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै सबै व्यवसायीलाई नगरपालिकाले तोकेको मापदण्ड पालना गर्न आग्रह छ ।

नगरपालिकाले बजार व्यवस्थापन अभियानमा सबै व्यवसायीको सहयोग आवश्यक रहेको भन्दै मापदण्डविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने नगरले प्रकाशन गरेको सूचनामा उल्लेख गरीएको छ ।

यसैबीच, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले सबैलाई नियमको पालना गर्न आग्रह गर्दै जनताको अधिकारभन्दा माथि कसैको व्यक्तिगत स्वार्थ हुन नसक्ने बताउँनुभएको छ । उहाँले फुटपाथ पैदलयात्रीका लागि निर्माण गरिएको भएकाले व्यापार विस्तारका लागि प्रयोग गर्न नहुने स्पष्ट पार्नुभएको छ । त्यस्तै उहाँले कमलामाई नगरपालिकाले बजारलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउने अभियानमा कुनै सम्झौता नगर्ने समेत स्पष्ट पार्नुहुँदै पोखरेलले सूचना जारी गरिसकिएकोले अब सबै व्यवसायीले स्वेच्छाले तोकिएको मापदण्ड पालना गर्नुपर्ने बताउँनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *