दुधौलीमा पालिका स्तरीय बाल तथा किशोरी भेला समापन
सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकामा नगरपालिकाको आयोजना तथा ह्याण्डस नेपाल र प्लान इन्टरनेशनल नेपालको सहयोगमा “आर्थिक वर्ष २०८३/०८४ को योजना छनौटको लागि पालिका स्तरीय बाल तथा किशोरी भेला” कार्यक्रम समापन भएको छ ।
बालबालिका तथा किशोरीहरूको आवाजलाई स्थानीय सरकारको नीति तथा कार्यक्रममा समावेशब गर्ने उद्देश्यले पालिका स्तरीय बाल तथा किशोरी भेला” कार्यक्रम गरीएको हो ।
दुधौली नगरपालिका कार्यवाहक नगर प्रमुख चन्द्र किश्वार थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिका अन्तर्गतका ७ वडाका बाल क्लब र किशोरी क्लब गरी ४५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी बालबालिका तथा किशोरीहरूले शिक्षा, स्वास्थ्य, बाल अधिकार, किशोरी सुरक्षा, विद्यालय व्यवस्थापन, मानसिक स्वास्थ्य, बालमैत्री वातावरण, लैंगिक हिंसा न्यूनीकरण, सरसफाइ तथा बाल संरक्षण लगायतका विषयमा आफ्ना समस्या, आवश्यकता र सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा बालमैत्री तथा किशोरीमैत्री योजनाहरू समावेश गर्न नगर संग माग गरेका थिए ।
त्यस्तै प्रमुख अतिथि समेत रहनु भएको दुधौली नगरपालिका कार्यवाहक नगर प्रमुख चन्द्र किश्वार थारुले बालबालिका तथा किशोरीहरूको सक्रिय सहभागिता स्थानीय सरकारको समावेशी योजना निर्माण प्रक्रियाको महत्वपूर्ण आधार भएको बताउनुहुँदै बालबालिकाले उठाएका सवालहरूलाई आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले बालबालिकाको सहभागिता सुनिश्चित गर्नु स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालबालिका सम्बन्धी ऐन २०७५, बाल अधिकार सम्बन्धी महासन्धि तथा बालमैत्री स्थानीय शासन सम्बन्धी राष्ट्रिय मापदण्डको भावना अनुरूप रहेको उल्लेख गर्दै स्थानीय तहले बाल अधिकार संरक्षण र प्रवद्र्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै सोहि अवसर पारेर विद्यालयमा सुरक्षित तथा बालमैत्री वातावरण निर्माण, किशोरीहरूका लागि स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन, विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था, बाल क्लब तथा किशोरी समूहको सशक्तीकरण, बाल अधिकार सम्बन्धी अभिमुखीकरण, विद्यालयमा दिवा खाजा तथा सरसफाइ व्यवस्थापन, बालमैत्री शौचालय निर्माण, मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा बाल सहभागिता प्रवद्र्धन सम्बन्धी योजना निर्माण गरी कार्यवाहक नगर प्रमुखलाई माग पत्र समेत हस्तान्तरण गरिएको छ ।



