मरिणमा ७ दिने बाली उपचार शिविर सञ्चालन हुने
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा यहि आउँदो बैशाख ३१ गते देखि जेठ ६ गतेसम्म बाली उपचार शिविर सञ्चालन हुने भएको छ ।
गाउँपालिकाले गत बुधबार एक सुचना प्रकाशन गर्दै ७ दिन सम्म संचालन हुने बाली शिविर पालिकाको विभिन्न वडाहरुमा सञ्चालन हुने जानकारी दिएको हो ।
मरिण गाउँपालिकाको आयोजनामा संचालन हुने शिविर कृषकहरूले भोगिरहेका बाली रोग तथा किराको समस्यालाई समाधान गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो ।
गाउँपालिकाको अनुसार शिविर बेशाख ३१ गते १ नम्बर वडामा, जेठ १ गते २ नम्बर वडामा, ४ गते ३ नम्बर वडामा शिविर सञ्चालन हुने छ । यसैगरी जेठ ५ गते ४ नम्बर वडामा र ६ गते गाउँपालिकाको ५, ६ र ७ नम्बर वडामा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।
त्यसैगरी शिविरमा कृषकहरूले रोग तथा किरा लागेका बोटबिरुवाहरू ल्याई प्राविधिक परामर्श तथा सेवा लिन सक्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै शिविरका क्रममा कृषकहरूलाई बाली रोग तथा किराको नियन्त्रण सम्बन्धी जानकारी दिनुका साथै माटो परीक्षणका लागि नमुना संकलन गर्ने तरिका पनि सिकाइने छ ।
मरिण गाउँपालिकाले समय समयमा यस्ता प्रकारका शिविरहरु संचालन गदै आईरहेको छ ।शिविरबाट सबै पालिकाबासीहरुलाई सेवा लिन पालिकाले अनुरोध समेत गरेको छ ।



