बीपि राजमार्ग सडकखण्डमा रोक
सिन्धुली/बीपि राजमार्ग सडकखण्डमा रातीको समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना प्रकाशन गर्दै प्रि–मनसुनका कारण बढ्दो वर्षा र बाढीको जोखिमलाई ध्यानमा राख्दै रातीको समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी दिएको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन बमोजिम बीपि राजमार्गको सिन्धुली र काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा रोशी खोलामा बाढी आई बाटो अवरुद्ध हुने गरेको हुनाले आज अर्थात वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारी साधन आवागमन निषेध गरिएको प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
साथै मौसम र रोशी खोलाको अवस्थाअनुसार आवश्यक परे जुनसुकै समयमा पनि सडक अस्थायी रूपमा बन्द गर्न सकिने जनाइएको छ । यात्रा अघि सडकको अवस्था बुझ्न प्रशासनले प्रहरीको र आपतकालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।



