विद्यार्थीलाई राम्रो सभ्यता सिकाउन गाउँपालिका अध्यक्ष वाइबाको आग्रह

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले विद्यार्थीलाई राम्रो सभ्यता सिकाउने जिम्मेवारी विद्यालय व्यवस्थापन र शिक्षकको भएको बताउनुभएको छ । आज हरिहरपुरगढी गाउँपालिका–३ स्थित कुशेश्वर आधारभूत विद्यालयको भवन शिलान्यास गर्नुहुँदै अध्यक्ष वाइबाले सो कुरा बताउनुभएको हो ।

प्रधानाध्यापक र शिक्षकले विद्यार्थीलाई सभ्यता सिकाउन नसके त्यसले विद्यार्थीको भविष्यसँगै समाजलाई नै नकारात्मक प्रभाव पार्ने उहाँको धारणा छ । विद्यालयको सरसफाइदेखि विद्यार्थीलाई सभ्यता सिकाउने कुरामा कमजोरी देखिएको बताउनुहुँदै उहाँले त्यसलाई सुधार गर्न विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई आग्रह गर्नुभयो ।

अध्यक्ष वाइबाले शिलान्यास गर्नुभएको भवनको निर्माण कार्य तारा ग्रुप अफ कम्पनीले गर्ने भएको छ । संघीय सरकारको विशेष अनुदानमा गाउँपालिकाले उक्त भवन बनाउन लागेको हो ।

विद्यलय भवन निर्माणको लागि बजेट व्यवस्थापनको लागि सिन्धुली क्षेत्र नं. २ का संघीय सांसद लेखनाथ दाहाल राजनको ठूलो भुमिका रहेको अध्यक्ष वाईवाले वताउनु भयो ।

हरिहरपुरगढी गाउँपालिकाभित्रका प्रावि विद्यालय भवनहरु निर्माण प्याकेज–२ अन्तर्गत यस विद्यालय भवनको योजना परेको हो ।
प्याकेज–२ को कूल बजेट एक करोड २६ लाख ६० हजार रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ । यस आयोजनाबाट १२ सय घरधुरी लाभान्वित हुने बताइएको छ ।

निर्माण कम्पनी तारा ग्रुपसँग गत कात्तिक ११ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ जेठ २५ सम्म प्याकेज–२ अन्तर्गतका सबै विद्यालय भवन निर्माण सम्पन्न गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *