जिल्लामै पहिलोपटक हरिहरपुरगढीमा हाइब्रिड मकैको बीउ उत्पादन सुरु

मंसिर २, सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा नेपाली हाइब्रिड मकैको बीउको परीक्षण उत्पादन सुरु गरिएको छ । जिल्लामै पहिलोपटक उक्त गाउँपालिकामा बीउ उत्पादनका लागि परीक्षण सुरु गरिएको हो ।
बीउविजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाले आइतबार गाउँपालिकाको एक हेक्टर जमिनमा हाइब्रिड मकैको बीउ रोपेको छ । केन्द्रका प्रमुख राजन ढकालको उपस्थितिमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवन नेपालका वरिष्ठ बैज्ञानिक डाक्टर महेन्द्रप्रसाद त्रिपाठी, अर्का वैज्ञानिक मनोज कँडेल तथा बाली विकास अधिकृत सिर्मला योन्जनसहितको विज्ञ टोलीले बीउ रोपेको हो ।
आइतबार रोपिएको बीउ आरएमल–१८ नामको भाले जातका मकैको भएको जानकारी दिइएको छ । भाले जातको मकैको बीउ रोपेको तीन दिनमा मात्रै आरएमल–१५० नामको पोथी जातको मकै रोपिने विज्ञ टोलीको भनाइ छ ।
भालेको धानचमरा आउने समय र पोथीको सुत्ला आउने समय एउटै होस् भनेर तीन दिनको फरकमा रोपिने केन्द्रका प्रमुख ढकालले बताउनुभयो । “भाले मकै भन्नाले मकैको धानचमरा र पोथी भन्नाले मकैको सुत्लालाई बुझिन्छ । भाले र पोथीको क्रसबाट हाइब्रिड उत्पादन गर्छौं । दुई फरक प्रजातिको बीउ लगाउँछौं । पोथी जातको मकै वृद्धि हँदै गर्दा धानचमरा पूरै हटाउँछौं । यसरी भाले र पोथी क्रसिङबाट उत्पादन हुने बीउ ’हाइब्रिड बीउ’ हुन्छ । अर्को सिजनमा सोही बीउ लगाउँदा धेरै उत्पादन हुन्छ,” प्रमुख ढकालले भन्नुभयो ।
कृषि विकास कार्यालय सिन्धुली र हरिहरपुरगढी गाउँपालिकाको तदारुकतामा पहिलोपटक सो गाउँपालिकामा नेपाली हाइब्रिड मकैको बीउ उत्पादन सुरु गरिएको उहाँले बताउनुभयो । “हाइब्रिड बीउ उत्पादनका लागि यो ठाउँ उपयुक्त छ । यहाँ अन्य मकै पनि उत्पादन राम्रो देखेका छौँ,“ उहाँले भन्नुभयो । यो पटक उत्पादन भएको बीउ अर्कोपटक गाउँपालिकाका सम्पूर्ण कृषकलाई वितरण गर्न पुग्ने प्रमुख ढकालले बताउनुभयो ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जिल्लामै पहिलोपटक हरिहरपुरगढीमा परीक्षण सुरु हुनु सकारात्मक भएको बताउनुभयो । उहाँले यो परीक्षण सफल भए पालिकालाई मकै उत्पादनमा आत्मनिर्भर बनाउँदै आर्थिक उपार्जनमा जोड्ने धारणा व्यक्त गर्नुभयो ।
अन्य अन्नबाली उत्पादन बढाउनका लागिसमेत परीक्षण गरिदिन अध्यक्ष वाइवाले विज्ञ टोलीसँग अनुरोध गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले यस्ता कार्यका लागि आवश्यक सामग्रीको व्यवस्था गरिने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *