• भदौ २४, सिन्धुली/प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले अत्यधिक राजनीतिक नियुक्ति हुँदा मुलुकले धान्नै नसक्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । सोमबार जिल्ला समन्वय समिति सिन्धुलीको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दाहालले राजनीतिक नियुक्तिबाट लाभ लिएर बस्ने मानिस धेरै भएको बताउनुभएको हो ।

    विभिन्न आयोग, संस्थान, प्रतिष्ठानमा राज्यले धान्न नसक्नेगरी नियुक्ति गरिएको दाहालको भनाइ छ । “प्रदेश र संघका विभिन्न संस्थानहरु छन् । एउटै प्रकृतिको काम गर्ने संस्थाहरु धेरै भए । त्यसले गर्दा कर्मचारीको बोझ थपियो,” दाहालले भन्नुभयो ।

    फजुल खर्चलाई राज्यले नियन्त्रण गर्नसके मात्रै नयाँ काममा अगाडि बढ्न सकिने उहाँले बताउनुभयो । दाहालले सामाजिक सुरक्षा कार्यक्रममा सम्पन्नता र विपन्नतालाई जोड्नुपर्ने तर्क राख्नुभयो ।

    “राज्यले बाँड्ने सामाजिक सुरक्षा सेवामा ध्यान दिन आवश्यक छ । कमजोरलाई राज्यले सहयोग गर्ने हो । विपन्नता र गरिबीको आधारमा सहयोग गर्नुपर्दछ । विपन्न, गरिब छ राज्यले सहयोग गर्नुपर्छ । सम्पन्नबाट राज्यले सहयोग लिनुपर्छ,” दाहालले थप्नुभयो ।

    विपन्नलाई सहयोग गर्ने र सम्पन्नलाई संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सामाजिक सुरक्षामा निश्चित मापदण्ड बनाउनुपर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य दाहालले संघ र प्रदेशमा अनावश्यक मन्त्रालय राखिएकोले बोझ बढेको उल्लेख गर्दै घटाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय शासकीय र सामाजिक अराजकताको चुनौती बढिरहेकोले अनुशासनको दायरामा ल्याउनुपर्नेमा दाहालले जोड दिनुभयो ।
    सोमबार जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।