कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
जेठ ७,सिन्धुली/बर्षाको कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको गोलन्जोर गाउँपालिका –१ कुडुलेमा माथिबाट लेदो माटो र ठुल–ठुला ढुङ्गा खस्दा सडक अबरुद्ध भएको हो ।
सोमबार (आज ) विहानै देखि अविरल बर्षाको कारण विहान ११ : ३० बाट सवारी साधन आवतआवतमा समस्या भएको हो । सडकमा माथिबाट लेदो माटो र ठुला ठुला ढुङ्गा खसेको गोलन्जोर गाउँपालिकाका पदम सुनुवारले जानकारी दिनुभयो ।
गोलन्जोर गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालय सम्म जाने सडकको ट्र्याक भर्खरै खनेको र पानी पर्दा उक्त माटो बगाएर तल सडकमा आइपुगेको छ । सडक अवरुद्ध हुँदा सो सडकमार्ग भएर फिक्कल गाउँपालिका,खोटाङ,सोलखुम्बु जाने सवारी साधनहरु रोकिएका छन् ।
अबिरल बर्षा भइरहेको र गाउँपालिका सँग स्काभेटर नभएको कारण लेदो माटो पन्साउन समस्या भएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताउनुभयो । एकतर्फी सडक सन्चालनको लागि पहल भइरहेको छ ।