• लेखनाथ दाहाल(राजन)
    प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ०२ सिन्धुली

    मुलभुत रुपमा पार्टी निश्चित विचार संगठन राजनीति र कार्यक्रम हो । पार्टी स्पष्ट वर्गीय दृष्टिकोणको आधारमा वन्दछ । पार्टी स्पष्ट विचारको जगमा निर्माण हुन्छ । विचारको जगमा विधि निर्माण हुन्छ । एकातिर कामलाई सम्मान गर्ने र श्रमीकलाई सम्मान गर्ने पार्टी हुन्छ¸ जसले श्रमजीवि वर्गको मुक्तिलाई केन्द्रमा राखेर अघी वढने संकल्प गर्दछ । जसले शासन सत्तामा श्रमजीवि वर्गको कुशल नेतृत्वको लक्ष्य राख्दछ त्यो नै कम्यूनिष्ट पार्टी हो । जसले निसर्त र निश्वार्थ अनवरत जनताको सेवा गर्ने संकल्प गर्दछ त्यो नै माओवादी हो । वर्तमान अवस्थामा माओवादी केन्द्र नै क्रान्तिकारी पार्टी हो । जनउत्तरदायी र जनसेवी पार्टी हो । जसले १० वर्षको महान जनयुद्ध मार्फत सामन्तवादको प्रतिनिधिमुलक संस्था राजतन्त्रको अन्त्य गरी संघीयता¸ गणतन्त्र¸ धर्मनिरपेक्षता¸ समानुपातिक¸ समावेशी र सामाजिक न्याय सहितको आफ्ना मुद्दाहरु संविधानमा संस्थात गरी जनतालाई अधिकार सम्पन्न गरायो । शासन सत्तामा जनताको समान सहभागीता सुनिश्चित गरायो ।

    संविधानको रक्षा¸ सफल कार्यान्वय¸ सुशासन¸ समृद्धी र सामाजिक न्यायको कार्यनितिक नारा सहित अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा जनतालाई सुविधा सम्पन्न वनाउने अर्को नयाँ अभियानको नेतृत्व पनि माओवादीले गर्ने दृण प्रतिवद्धता सहित माओवादी जनता बिचमा रहेको छ । पार्टी भित्र देखिएका फोहोरमैला सफा गर्दै फोहोरीलाई पन्छाउँदै जनताको अपेक्षा र राष्ट्रिय आवश्यकता पूरा गर्ने अभियानमा माओवादी लागीपरेको छ । समाजवादी क्रान्तिको नेतृत्व गर्न लायक पार्टी निर्माण गर्न अनि पार्टीको जीवन्त नेतृत्व गर्न विचारको विकास र कार्यान्वय गर्न सक्ने योग्य इमान्दार सक्रिय र कर्तव्यनिष्ट नेतृत्वको केन्द्रिकरण र परिचालन गर्ने लक्ष्य प्रति माओवादी पार्टी समर्पित रहेको छ । विचार¸ संगठन र नेतृत्वको मजवुद केन्द्रिकरणको अभियानमा माओवादी पार्टी रहेको छ तसर्थ असिमित उर्जा उत्साह र क्रान्तिकारी आशावादको साथ जीवन्त गतिशिल र जनसेवी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नु प्रत्येक क्रान्तिकारीहरुको दायित्व हुन जान्छ ।

    पार्टी विचार र विधिमार्फत चल्छ भन्ने सरकार विद्यामान ऐन कानुन मार्फत चल्दछ । सरकारलाई पार्टीले वैचारिक नेतृत्व प्रद्धान गर्न मात्र सक्दछ । नीति योजना र कार्यक्रम¸ बजेट निर्माण¸ योजना छनोट प्रभावकारी¸ पारदर्शी कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्न सक्दछ । साधन स्रोत र अवसरको न्यायोचित वितरण भएको छ कि छैन निगरानी गर्न सक्दछ ।पार्टी प्रति जनताको आकर्षण र विश्वास¸ पार्टी प्रतिको अथक मेहनतको कारणले पार्टीको एउटा कार्यकर्ता निर्वाचित हुन्छ भन्ने कुरा प्रत्येक जनप्रतिनिधिले भुल्नु हुदैन । विचारमा दृण तर व्यवहारमा लचकता प्रत्येक जनप्रतिनिधिहरुले अपनाउनुपर्ने विषय हो । सेवामा विभेद गर्नु हुदैन । सबैलाई सम्मान र समान व्यवहार गर्नुपर्छ । कार्यसम्पादन र न्यायसम्पादनमा विभेद गर्नु हुदैन । अख्तियार र अवसरको दुरुपयोग गर्नु हुदैन ।

    जनप्रतिनिधिको असल व्यवहार¸ असल आचरण¸ विनम्रता¸ कुशल नैतृत्व क्षमता नै पार्टीलाई बलशाली वनाउने आधार हुन् । तसर्थ बैधानिक राजनीतिमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताले पार्टी ठान्ने भएकोले हरेक जनप्रतिनिधिहरुले नयाँ आकर्षण पैदा गर्न जनविश्वासमा वढोत्तरी गर्न र संगठनमा रुपान्तरण गर्न सक्नुपर्दछ । हरेक जनप्रतिनिधिहरुलाई मालेमाको वैचारिक आलोक अनुसार राम्रो गर्ने छुट हुन्छ तर नराम्रो गर्ने कसैलाई छुट हुनेछैन । त्यसकारण सामुहिक नेतृत्व प्रद्धान¸ सामुहिक नेतृत्व विकास र समाजवादी क्रान्तिको एक असल सिपाही वन्ने र जनदिशा पक्रिने प्रण गरौ । साभार : मरिण जागरण