• वैशाख २६,सिन्धुली/प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बजेटमा जनतालाई आशा जगाउने गरी लोकप्रिय कार्यक्रम ल्याउने बताउनुभएको छ । सिन्धुलीमा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नीति तथा कार्यक्रम र बजेटको तयारी सोहीअनुरुप तयारी गरिरहेको बताउनुभयो ।

    ‘यो पटक नीति तथा कार्यक्रम ल्याउन नै फरक तरिकाले ल्यायौं । नीति तथा कार्यक्रमसँग तालमेल हुनेगरी बजेटको तयारी भइरहेको छ । आगामी बजेटले जनतालाई नयाँ आशा र भरोसा जगाउनेछ । लोकप्रिय र जनतालाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम ल्याउँदैछौं,’ उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री दाहालले आफू सरकारमा आएपछि धेरै काममा प्रगति भएको उल्लेख गर्नुभयो । ‘मैले तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्ने बेला मुलुकको अर्थतन्त्र जुन स्थितिमा थियो, म नेतृत्वमा आएपछिको १६ महिनाको अवधिमा भएको प्रगति हेर्दा धेरै प्रगति भएका छन् । अर्थतन्त्रका बाह्य सूचकहरुमा उल्लेखनीय सुधार भएको छ,’ उहाँको भनाइ थियो । यद्यपि, सरकारले गरेका राम्रा कामहरुको जानकारी जनतासम्म पुर्याउन नसकेको उहाँले बताउनुभयो ।

    उहाँले सरकारले गरेका राम्रा कामहरुको गहिरो अध्ययन गरी जनतालाई बुझाउन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो । ‘अरुले यति धेरै काम गरेको भए हामीलाई बसिनसक्नु बनाइसक्थ्यो । हामीले यति धेरै काम गर्यौं, कति धेरै राम्रा कामहरु अगाडि बढिरहेका छन् तर यसलाई जति जनताको बीचमा बिक्री गर्न सक्नुपथ्र्यो त्यति सकेका छैनौं । सबै विषयको गहिरो अध्ययन, चिन्तन मनन गरेर जनतालाई साँचो कुरा बताउनुहोला,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । यो पटक जनतालाई आशा र भरोसा जगाउँदा आगामी चुनावमा पार्टीले राम्रो परिणाम निकाल्ने उहाँको भनाइ थियो ।

    अर्को प्रसंगमा उहाँले वामपन्थीहरुबीच नयाँ एकता बढ्ने कुरा भइरहेको बताउनुभयो । माओवादीहरुबीच भने एकता निश्चित भइसकेको उहाँको दाबी छ । ‘माओवादीहरु करिब–करिब सबै एक हुँदैछ । माओवादी भन्नेजति छिट्टै नै संयोजन समिति बनाएर एकता प्रक्रियामा जान तयारी भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । समाजवादीहरुसँगको एकता र वर्तमान सत्ता साझेदारहरुसँगको सहकार्यले पनि निरन्तरता पाउने उहाँले बताउनुभयो ।

    ‘समाजवादीहरु र अहिले सुरु भएको सहकार्य यो पटक पहिलेभन्दा सहज ढंगले अगाडि जाने भएको छ । त्यसले नेपालको वामपन्थी आन्दोलन र समाजवादी आन्दोलन, सामाजिक न्याय, सुशासन र समृद्धिको अभियान नयाँ ठाउँमा पुर्याउनेछ,’ प्रधानमन्त्री दाहालले बताउनुभयो ।

    प्रधानमन्त्री दाहाल सुनकोशी–मरिन डाइभर्सनको निर्माणाधीन सुरुङ ‘ब्रेक–थ्रु’ गर्न मंगलबार सिन्धुली आउनुभएको हो । यही अवसरमा नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँ कमिटिले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई उहाँले सम्बोधन गर्नुभएको हो । उहाँले पार्टीको संगठन सुदृढीकरण र जनताको समस्यालाई सम्बोधन गर्ने गरी अगाडि बढ्न नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।