• फागुन १५,सिन्धुली/ दादुरा रुबेला खोप अभियानबाट सिन्धुलीका २१ हजार ७४ बालबालिकालाई खोप लगाइने भएको छ । नेपाल सरकारको दादुरा–रुबेला विरुद्धको खोप राष्ट्रिय अभियान अन्तर्गत आज बाट शुभारम्भ भएको दादुरा रुबेला खोप अभियानमा २१ हजार ७४ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
    एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले स्वास्थ्यकर्मी हरुलाई खोप सामाग्री हस्तान्तरण गर्दै दादुरा–रुवेला खोप अभियानको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो ।
    ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई खोप लगाइनेछ । ३ सय ४७ खोप केन्द्रबाट दादुरा–रुवेला बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजन पोखरेलले जानकारी दिनुभयो । खोप अभियानमा ३ सय ४७ जना स्वास्थकर्मी र ६ सय ९४ जना स्वयंसेवक परिचालन गरिएको स्वाथ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
    आज देखि शुभारम्भ भएको खोप अभियान फागुन १९ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरीक्षक पुष्पराज पन्तले जानकारी दिनुभयो ।
    त्यस्तै स्वास्थ्य कार्यक्रमको बिभिन्न सूचकको आधारमा गरिएको मुल्यांकनमा ७८ प्रतिशत अंक प्राप्त गरि जिल्लाको मरिण गाउँपालिका प्रथम भएको छ । २६ औं स्वास्थ्य सेवा दिवसको अबसर पारेर आर्थिक बर्ष २०७९÷८० मा संचालित बिभिन्न स्वास्थ्य कार्यक्रममा १० वटा सूचकको आधारमा जिल्लाका पालिका हरुले प्राप्त गरेका नतिजा घोषणा गरिएको हो । त्यस्तै ७६ प्रतिशत अंक प्राप्त गरि कमलामाई नगरपालिका दोस्रो र ७४ प्रतिशत अंक प्राप्त गरि दुधौली नगरपालिका तेस्रो भएका छन् ।
    त्यस्तै फिक्कल गाउँपालिका, तिनपाटन गाउँपालिका र सुनकोशी गाउँपालिकाले ६६ प्रतिशत, हरिहरपुरगढी गाउँपालिकाले ६० प्रतिशत, घ्याङलेख गाउँपालिकाले ५२ प्रतिशत र गोलन्जोर गाउँपालिकाले ५० प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।