• माघ २०, सिन्धुली/प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको उद्घाटन गर्दै उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
    साथै उहाँले यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै सर्पदंश उपचारको व्यवस्था गर्नसमेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
    ‘मैले यो अस्पताल उदघाटन त गरें तर भित्र पसेर हेर्दा सबै कोठाहरु खाली नै छन् । अस्पतालका प्रमुख चिकित्सकसँग कुरा गर्दा र कार्यक्रमका वक्ताहरुले यहाँ पहिलो कुरा उपकरणको कमी छ संघीय सरकारले पनि योगदान गर्नुप¥यो भन्नुभयो, दोस्रो दक्ष जनशक्ति र कर्मचारीको व्यवस्थापनमा संघ र प्रदेश सरकारले पनि सहयोग गर्नुप¥यो भन्ने माग राख्नुभयो, तेस्रो यो क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेकोले सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पनि सहयोग गर्नुप¥यो भन्नुभयो,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘यी तीनवटै कुरा– उपकरण, दक्ष जनशक्ति र कर्मचारी तथा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि म यहाँबाट जानेबित्तिकै पहल थाल्ने विश्वास दिलाउन चाहन्छु ।’
    प्रधानमन्त्री दाहालले सरकारले अहिले स्वास्थ्य र शिक्षाको क्षेत्रमा केही नयाँ पहल गर्न खोजेको जानकारी दिनुभयो । यही सन्दर्भमा दुधौली अस्पतालको उद्घाटन गर्दा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । दुधौली नगरपालिकाको समग्र विकासका लागि नगरप्रमुखले बुझाएको ध्यानाकर्षणपत्रलाई गम्भीर रुपमा लिइने प्रधानमन्त्री दाहालको भनाइ छ ।
    ‘दुधौली सदरमुकामबाट सबैभन्दा टाढा र उदयपुरसँग जोडिएको, धेरै जनघनत्व भएको नगरपालिका हो । यहाँको समग्र विकासका लागि मेरो ध्यानाकर्षण भएको छ,’ उहाँले भन्नुभयो । यस क्षेत्रमा कृषि उत्पादनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकासमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
    अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले गरिब, दलित, उत्पीडित जनताको हकहित संरक्षणबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले तल्लोतहका जनताको हकहित रक्षामा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प सुदृढ र समुन्नत गणतन्त्र नै भएकोले त्यसको अर्को विकल्प हुन नसक्ने बताउनुभयो ।
    उहाँले कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा वर्तमान सरकार केन्द्रित भएको बताउनुभयो । उहाँले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताउनुभयो ।
    कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले नगर अस्पतालको विकासमा प्रदेश सरकारकोतर्फबाट उचित सहयोग रहने बताउनुभयो ।
    प्रधानमन्त्री दाहालले उद्घाटन गर्नुभएको दुधौली नगर अस्पताल १५ शय्याको हो । अस्पतालले दैनिक १५० भन्दा बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिइएको छ । उक्त अस्पताल करिब १८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो ।