• पुस २०, सिन्धुली/कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेलले सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिदिने प्रतिबद्धता जनाउनुभएको छ । क्याम्पसका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख पोख्रेलले उत्कृष्ट, पिछडिएका समुदाय र अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति दिइने बताउनुभएको हो ।

    आज बीबीए तहका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुभयो । उहाँले क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि र पूर्वाधार विकासमा सबैको सहकार्य आवश्यक हुने बताउनुभयो ।

    सोही कार्यक्रममा क्याम्पस प्रमुख भानुभक्त गुरुङले सिन्धुली जिल्लाको ऐतिहासिक धरोहर सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु जिल्लाको जुनसुकै निकायमा पनि अब्बल भूमिकामा रहेको दाबी गर्नुभयो । क्याम्पसलाई समृद्ध बनाउन र विद्यार्थीहरुको उज्वल भविष्यका लागि आफु अहोरात्र खटिने प्रमुख गुरुङले प्रतिबद्धता जनाउनुभयो । उहाँले क्याम्पसको शैक्षिक गुणस्तरमा सुधार ल्याउने र क्याम्पसलाई आर्थिकरुपमा समृद्ध बनाउने बताउनुभयो ।

    क्याम्पसको शैक्षिक गुणस्तर र शैक्षिक गतिविधिमा सुधार ल्याउँदै विद्यार्थी संख्या बढाउने, आर्थिक पारदर्शिता कायम गर्ने र क्याम्पसलाई आर्थिक रुपमा समृद्ध बनाउने उहाँको प्रतिबद्धता छ ।

    क्याम्पसको बारेमा बाहिर आएका नकारात्मक कुराहरुलाई चिर्न पहल गर्ने उहाँले बताउनुभयो । ‘अहिले क्याम्पसको बारेमा जुन भ्रम सिर्जना गरिएको छ, सबै मिलेर त्यसलाई चिर्नुपर्छ । यसका लागि अभियान चलाउँछु,’ क्याम्पस प्रमुख गुरुङले भन्नुभयो ।

    कार्यक्रम बीबीएतर्फका संयोजक सन्तोष शर्माको अध्यक्षतामा भएको थियो । यस क्याम्पसमा स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ ।