• पुस १८, सिन्धुली/सिन्धुलीको गौमती खोलामा बोटिङ सुरु गरिएको छ । स्थानीय पर्यटन प्रवर्द्धनको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन कमलामाई नगरपालिकाको वडा नम्बर ५, ८ र ११ को त्रिवेणी किनार माइस्थान मन्दिर छेउमा बोटिङ सुरु गरिएको हो ।

    सम्बन्धित निकायलाई घचघच्याउनको निम्ति पुस १ गतेबाट माइस्थान मन्दिर ब्यवस्थापन समितिले सामान्य बाँध कसेर बोटिङ सुरु गरेकाे हाे । पर्यटकको लोभ लाग्दो आकर्षण बढेपछि बोटिङलाई स्थायीत्व दिनको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिरहेको समितिका अध्यक्ष नवराज श्रेष्ठले बताउनु भएको छ । माइस्थान मन्दिरमा हरेक बर्षको माघ १ गते विशेष मेला लाग्ने गर्दछ । बाह्रै महिना पूजाआजा गर्न सिन्धुली जिल्ला सहित छिमेकी जिल्ला रामेछाप, सर्लाहि, महोत्तरी लगायत छिमेकी राष्ट्र भारतबाट पनि आउने भक्तजनहरुलाई मनोरन्जनको साथै पर्यटन प्रवर्द्धनको लागि बोटिङ सयरले आकर्षण गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

    ‘पर्यटन पर्यावरणकाे लागि सौन्दर्यता देखाउने उद्देश्यले सामान्य माटोको बाँध कसेर जमेको तालमा बोटिङ सुरु गरेका छौँ । यो साेझो हिसाबले भन्दा सम्बन्धित निकायको आँखा पुर्याउनको लागि गरिएको प्रयास हो । बोटिङ सवारको निम्ति हाम्रो जिल्लाका मानिस अन्य क्षेत्रमा जान्छन् भने त्यो सेवा हामीले किन आफ्नै ठाउँमा नदिने त ?’ उहाँले सिन्धुली खबर सँग भन्नुभयो । यसैबिच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्राविधिक कुराबाट पनि सम्भावना भए यसलाइ स्थायीत्व दिन बागमती प्रदेशबाट बजेट बिनियोजन गरिदिने बताउनु भएको छ ।

    बोटिङ अवलोकनको निम्ति गृह जिल्ला सिन्धुली आइपुग्नु भएका मन्त्री श्रेष्ठले आन्तरिक पर्यटनको निम्ति उत्कृष्ट योजना भएको बताउँदै यदि प्राविधिक रुपले बोटिङको निम्ति सुरक्षित स्थान भए बजेट बिनियोजन गरिदिने प्रतिबद्धता जनाउनु भएको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार कृष्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।