• पुस १२,सिन्धुली/ कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवस्थित सिन्धुली बहुमुखी क्याम्पसको प्रमुखमा भानुभक्त गुरुङ नियुक्त हुनुभएको छ । गोलन्जोर गाउँपालिका निवासी गुरुङलाई क्याम्पस व्यवस्थापन समितिको बुधबार बसेको बैठकले क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    क्याम्पसमा उहाँले तीन वर्षदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । यस क्याम्पसमा उहाँले अध्यापन सुरु गर्नुभएको २०६६ मंसिर १ गतेदेखि हो । त्यतिबेला गुरुङ नेपाली विषयको विभागीय प्रमुख बन्नुभएको थियो ।
    क्याम्पस व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेलले अन्य आकांक्षी शिक्षकहरुको सहमतिमै गुरुङलाई क्याम्पस प्रमुख नियुक्त गरिएको जानकारी दिनुभयो ।

    ‘क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका शिक्षकहरु र प्रमुखका आकांक्षीहरुले उहाँलाई प्रमुख बनाउन सहमति जनाउनुभयो । सहायक क्याम्पस प्रमुखसमेत बनिसक्नुभएका उहाँ प्रमुखका लागि योग्य व्यक्ति हुनुहुन्छ । योग्यताको हिसाबले पनि उहाँलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरिएको हो,’ अध्यक्ष पाख्रेलले सिन्धुली खबरलाई भन्नुभयो ।

    व्यवस्थापन समितिले नियुक्तिको निर्णय गरे पनि गुरुङले नियुक्तिपत्र पाउन बाँकी छ । एक–दुई दिनभित्रै नियुक्तिपत्र दिने तयारी रहेको अध्यक्ष पोख्रेलले बताउनुभयो ।

    क्याम्पस टपरदेखि प्रमुखसम्म
    सिन्धुली बहुमुखी क्याम्पससँग नवनियुक्त क्याम्पस प्रमुख गुरुङको साइनो २०५७ सालमै जोडिएको थियो । उहाँ कक्षा ११ को विद्यार्थीको रुपमा क्याम्पसमा भर्ना हुनुभएको थियो । पढाइमा अब्बल उहाँ कक्षा ११ र १२ मा क्याम्पस टपर बन्नुभयो । त्यसपछि स्नातक तहको पढाइ पनि उहाँले सोही क्याम्पसबाट पूरा गर्नुभयो ।

    विद्यार्थीको रुपमा क्याम्पससँग जोडिएको उहाँको सम्बन्ध २०६६ मंसिर १ गतेबाट शिक्षकहुँदै क्याम्पस प्रमुखसम्म अगाडि बढेको छ । नेपाली विषयको विभागीय प्रमुख, आठ वर्ष शिक्षण अभ्यास कार्यक्रम प्रमुख र तीन वर्ष सहायक क्याम्पस प्रमुखको अनुभवी उहाँको नेतृत्वमा क्याम्पसले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

    नवनियुक्त प्रमुख गुरुङले क्याम्पसको शैक्षिक गुणस्तरमा सुधार ल्याउने र क्याम्पसलाई आर्थिकरुपमा समृद्ध बनाउने योजना सुनाउनुभएको छ । ‘शैक्षिक गुणस्तर र शैक्षिक गतिविधिमा सुधार ल्याउँदै विद्यार्थी संख्या बढाउने, आर्थिक पारदर्शिता कायम गर्ने र क्याम्पसलाई आर्थिक रुपमा समृद्ध बनाउन काम गर्नेछु,’ उहाँले सिन्धुली खबरसँग भन्नुभयो ।

    क्याम्पसको बारेमा बाहिर आएका नकारात्मक कुराहरुलाई चिर्न पहल गर्ने उहाँको प्रतिबद्धता छ । ‘अहिले क्याम्पसको बारेमा जुन भ्रम सिर्जना गरिएको छ, सबै मिलेर त्यसलाई चिर्नुपर्छ । यसका लागि अभियान चलाउँछु,’ गुरुङले भन्नुभयो ।

    त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मको पढाइ सञ्चालन हुँदै आएको छ ।