• पौष १, सिन्धुली/तीनपाटन गाउँपालिकाको चकमके बजारमा रहेको चन्द्रज्योती इङ्लिस बोर्डिङ स्कूलले दोश्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    साना नानीबाबुहरूको साङ्गीतमय नाच तथा विज्ञान र प्रविधि सम्बन्धी प्रस्तुतीहरू कार्यक्रमका मुख्य आकर्षण रहे । आज जताततै प्रयोगात्मक एवं व्यक्तित्व विकासमा सहयोग पु¥याउने शिक्षाको अभाव देखिँदै गरेको अवस्थामा श्री चन्द्रज्योती इङ्लिस बोर्डिङ स्कूलले सुविधासम्पन्न शहरहरूबाट टाढा गाउँघरमा रहेर पनि साना नानीबाबुहरूको जिज्ञासालाई निरन्तर जगाउँदै, बढाउँदै र समाधान गर्दै प्रयोगात्मक र प्रविधिमूलक शिक्षा उपलब्ध गराउने प्रयत्न गरिरहेको प्रधानाध्यापक विष्णु प्रसाद काफ्लेले जानकारी दिनुभयो । जिज्ञासा नै ज्ञान प्राप्तिको मार्गमा पहिलो पाइला भएको र निरन्तरको जिज्ञासाले सिकाइसँगै उपलब्धीको जस्तेसुकै शिखर चुम्न सकिने वहाँले बताउनुभयो ।

    स्वयं श्री चन्द्रज्योती इङ्लिस बोर्डिङ स्कूलको प्राङ्गणमा आयोजना गरिएको यो विशेष कार्यक्रमको साङ्गीतमय नाच तथा प्रविधि सम्बन्धी प्रस्तुतीहरूमा कक्षा ३, ४ र ५ का भाइबहिनीहरूले प्रमुख रूपमा सहभागितामा जनाएका थिए । विज्ञान विषयमा आधारित रहेर देखाइएको प्रस्ततीहरूमा ‘वायरलेस इलेक्ट्रिसिटी ट्रन्समिसन’, ‘एल. डी. आर. सिस्टम’, ‘ग्याँस सेन्सर’, ‘चिल्ली कटर’ लगायत गरी दश प्रकारका अन्य प्रविधि सम्बन्धी प्रस्तुतीहरू पनि रहेका थिए ।

    हिजो आज बजारमा आउने ‘स्मार्टफोन’ हरूमा धेरै नै प्रयोग भइरहेको ‘वायरलेस इलेक्ट्रिसिटी ट्रान्समिसन’ ले कसरी काम गर्छ भन्ने अवधारणालाई कक्षा ५ मा अध्येयनरत छात्र विवश काफ्ले र सुरज अधिकारी एवं कक्षा ४ मा अध्येयनरत छात्र साजन वि.क. ले प्रयोगात्मक रूपमा प्रस्तुत गरेका थिए ।

    आजभोलि बजारमा जताततै किन्न पाइने सामान्य बत्तीहरूमा पनि उपलब्ध हुने एउटा प्रविधि छ– अँध्यारो हँुदा आफैं बल्ने र उज्यालो हुँदा आफैं निभ्ने बत्ती । यी बत्तीहरूमा आफैं बल्न र निभ्न उज्यालो र अँध्यारोलाई चिन्न सक्ने ‘एल. डी. आर.’ सेन्सर प्रयोग गरिएको हुन्छ । यही उदाहरणलाई सामान्य भाषासहितको प्रयोगात्मक प्रस्तुतीमा सहभागी थिए कक्षा ५ का छात्र टीकाराम पुलामी र कक्षा ४ का छात्र विष्णु नारायण गिरी ।

    हामी सबैले गाउँघर तथा शहरबजार यत्रतत्र खाना पकाउन प्रयोग गर्ने ग्याँस सिलिन्डर प्रयोग गर्दा ग्याँस खुल्ला छोडिएर या रसाएर आगलागि हुने सम्मका दुर्घटनासम्म हुने गरेको पाइन्छ । यसलाई रोक्न कसरी सकिन्छ भन्ने जिज्ञासाको उत्तरमा कक्षा ५ का छात्र टीकाराम पुलामी र कक्षा ४ का छात्र पवन अधिकारीले ‘ग्याँस सेन्सर’ बनाएर प्रस्तुती दिएका थिए ।

    चटपटे खान हामीमध्ये धेरैलाई मन पर्छ तर बनाउन साह्रै सहज चाहिँ हुँदैन । अझ चटपटेमा प्रयोग हुने हरियो खुर्सानी काट्न त राम्रै सिप जरूरत पर्छ । त्यही खुर्सानी काट्न प्रविधिको कसरी प्रयोग होला भनेर सिकिएको सिपलाई प्रयोग गरेर ‘चिल्ली कटर’ बनाएर देखाए कक्षा ५ का छात्र टीकाराम पुलामी र कक्षा ३ का छात्र तिलक लुङगेलीले ।

    यसै गरी साङ्गीतमय नाच प्रस्तुत गर्ने भाइबहिनीहरू आशिका परियार, ज्योती तामाङ, टीकाराम पुलामी, शृष्टि सिदाली, निल्सना तामाङ, साइना श्रेष्ठ, दिलसना तामाङ, राधिका फुयाल, प्राश्ना आले मगर, लितक लुङ्गेली, आर्सिया भुजेल, लक्ष्मी अधिकारी, साइरा श्रेष्ठ लगायतको प्रस्तुती पनि हेर्न लायकका रहे ।