राहदानी लिनेको संख्यामा बृद्धि
कार्तिक १६, सिन्धुली/सिन्धुलीमा राहदानी लिनेको संख्या बढिरेको छ । ३ बर्षको अन्तरालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट १६ हजार भन्दा बढिले राहदानी लिएका छन् ।
कार्यालय सिन्धुलीको तथ्यांक अनुसार सन् २०२० देखि सन् २०२३ सम्म १६ हजार ५ सय ५३ जनाले राहदानी लिएका छन् । सन् २०२०/२१ मा १ हजार ३ सय ८२ जना पुरुष र ६ सय ९६ जना महिला गरी जम्मा २ हजार ७८ जनाले राहदानी लिएका छन् । त्यस्तै सन् २०२१/२२ मा ३ हजार ४ सय ८ जना पुरुष र १ हजार ३ सय ९ जना महिला गरी ४ हजार ७ सय १७ जनाले राहदानी लिएका छन् ।
तथ्यांक अनुसार सन् २०२२/२३ मा राहदानी लिनेको संख्या निकै बढेको देखिन्छ । सन् २०२२/२३ मा ७ हजार ४ सय ७२ जना पुरुष र २ हजार २ सय ८६ जना महिला गरी जम्मा ९ हजार ७ सय ५८ जनाले राहदानी लिएका छन् । राहदानी लिनेमा सबैभन्दा बढि वैदेशिक रोजगारीमा जाने युवाहरु छन् भने केहिले भ्रमणका लागि लिने गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
राहदानीको लागि जिल्ला प्रशासनबाट सिफारिस लिनेहरु धेरै भएकाले राहदानी लिनेको संख्या अझै बढि हुन सक्ने नेपालको भनाई छ । बिशेषगरी राहदानी लिनेमा २२ बर्ष देखि ३५ बर्ष उमेर समूहका युवाहरु रहेका छन् । पछिल्लो समय राहदानी लिने महिलाहरुको संख्या पनि बढेको छ ।