मोक्तानले गरे जन्मदिनमा श्रमदान
भदौ २३, सिन्धुली/सामान्यतया मानिसहरुले केक काटेर, मिठा परिकारहरु खाएर, साथीभाइ तथा परिवार भेटघाट गरेर या घुमघाम गरेर आफ्नो जन्मदिन मनाउँने गर्छन् । हिजोआजका उदाहरणहरु हेर्ने होभने त झन् विकृतिपूर्ण देखिन्छन् । जन्मदिन मनाउँने बाहानामा ठूलै जमघट सहितको फजुल खर्च गरेको पाईन्छ ।
तर सबैलाई एकै तरिकाले बुझ्न भने मिल्दैन । यसको अपवादमा केहि पात्रहरु यस्ता पनि भेटिन्छन् जो फजुल खर्च भन्दा सामाजिक सेवा गरेर जम्मदिन या अन्य उत्सवहरु मनाउँछन् ।
सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) ले आफ्नो जन्मदिन श्रमदान गरेर मनाउनुभएको छ । मोक्तानले आज ३७ औँ जन्मदिनको अवसरमा मरिण गाउँपालिका वडा नम्बर २ सिन्दुरेदोभान बाट रातमाटा सम्म करिब ५ किलोमिटर सडक मर्मत गर्नुभएको छ ।
उक्त स्थानमा अबिरल बर्षाका कारण केहि समय देखि पहिरोले गर्दा सवारी साधन आवत जावतमा कठिनाई भएको थियो । पहिरोका कारण स्थानीयलाई हिँड्ड्ल गर्नै अप्ठेरो भएको भन्ने जनगुनासो आएपछि अध्यक्ष मोक्तानले आफ्नो जन्मदिनको अवसरमा जनश्रमदानको नेतृत्व गरेर सडक मर्मत गर्नुभएको हो ।
“जनताको सेवा गर्छु भनेर कसम खाएको छु । जन्मदिन पनि जनताकै सेवा गरेर मनाउँछु । समृद्ध मरिण निर्माणको लागि मरिणबासीले मलाई जिताएर पठाएका हुन् । जनताको आसा र भरोसा म बाट कदापि तोडिने छैन” वहाँले भन्नुभयो । काम गर्दा कुनै कमजोरी भएमा मरिणका जनताले आफूलाई सुझाउनुपर्ने भन्दै अध्यक्ष मोक्तानले भन्नुभयो “मरिणका जनताको पक्षमा काम
गर्न मलाई कसैको अवरोध स्विकार्य हुँदैन ।”जनताको काम गर्नु नै आफ्नो लागि एक उत्सव भएको वहाँको भनाई छ ।
यसभन्दा अघि पनि मरिणमा धेरै कामहरु जनश्रमदान बाट सम्भव भएका छन् । यसबाट आफूले जनश्रमदान बाट निकै ठूला काम पनि सम्भव हुनेरहेछन् भन्ने पाठ सिकेको अध्यक्ष मोक्तानले बताउनुभयो । गाउँपालिकाबाट बजेट बिनियोजनको लागि असमर्थ भएका स्थानमा श्रमदानबाटै काम गरिने वहाँको भनाई छ ।
जनश्रमदानको लागि मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, वडा नम्बर २ का अध्यक्ष तथा मरिण गाउँपालिकाका प्रवक्ता कमलबहादुर आले मगर लगायत अन्य जनप्रतिनिधि, कर्मचारी, नेपाल रेडक्रस सोसाइटी, युवा क्लव, नागरिक समाज गरी करिब ३ सय जनाको जनसहभागिता रहेको थियो । मोक्तान नेकपा माओवादी केन्द्रबाट निर्वाचित मरिण गाउँपालिकाका अध्यक्ष हुन् । यस अघि वडा अध्यक्ष तथा गाउँपालिकाको प्रवक्ता भएर काम गरेको अनुभव मोक्तानसंग छ ।