• असार ११, सिन्धुली/जिल्लाका ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहहरुले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेका छन् । एउटा स्थानीय तहमा भने विवाद भएपछि रोकिएको छ ।

    सिन्धुलीको कमलामाई नगरपालिकाले १ अर्ब ३९ करोड ४१ लाख ३४ हजार ६ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । आइतबार कमलामाई नगरपालिकाको १३ औँ अधिवेशन तथा दोस्रो बैठकमा उपप्रमुख मन्जु देबकोटाले प्रस्ताव गर्नुभएको बजेट पारित भएको हो ।

    दुधौली नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि १ अर्ब ८ करोड ३२ लाख ५६ हजार २ सय ४१ रुपैयाँ बिनियोजन गरेको छ । जसमा चालु तर्फ ७३ करोड ९६ लाख ५६ हजार २ सय ४२ रुपैयाँ अर्थात कुल बजेटको ६८ प्रतिशत छुट्याइएको छ भने पूँजिगत तर्फ ३४ करोड ३६ लाख अर्थात कुल बजेटको ३२ प्रतिशत छुट्याइएको छ । आइतबार दुधौली नगरपालिकाको १७ औँ अधिवेशनमा दुधौली नगपालिकाका नगर प्रमुख दिनेश अधिकारीको अध्यक्षतमा उपप्रमुख चन्द्र किशोर थारुले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

    त्यस्तै मरिण गाउँपालिकाले ५५ करोड ९६ लाख ५१ हजार ८ सय १ रुपौयाँको बजेट ल्याएको छ । जसमा पूँजीगत तर्फ १४ करोड ६७ लाख ५५ हजार र चालु तर्फ ४१ करोड २८ लाख ९६ हजार ८ सय १ रुपैयाँ विनियोजन गरेको छ ।

    घ्याङलेख गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४६ करोड ५७ लाख ७५ हजार ६ सय ५८ रुपौयाँ बजेट ल्याएको छ । जसमा पूँजीगत तर्फ २९ करोड १९ लाख २५ हजार ६ सय ५८ रुपैयाँ र चालु तर्फ ४१ करोड २८ लाख ९६ हजार ८ सय १ रुपैयाँ बजेट पारित भएको उपाध्यक्ष शंकरमान घलानले जानकारी दिनुभयो ।

    सुनकोशी गाउँपालिकाले चालु तर्फ ४३ करोड ३२ लाख ४१ हजार अर्थात ७३ दशमलब ८८ प्रतिशत र पूँजीगत तर्फ १५ करोड ३१ लाख ५० हजार अर्थात २६ दशमलब ११ प्रतिशत गरि कुल बजेट ५८ करोड ६३ लाख ९१ हजार रुपैयाँ बजेट सार्बजनिक गरेको छ । त्यस्तै तीनपाटन गाउँपलिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि कुल ७९ करोड ९० लाख २३ हजार बराबरको बजेट ल्याएको छ ।

    यहाँको हरिहरपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि ५२ करोड ९४ लाख ७१ हजार ५ सय ७ रुपैयाँ बजेट सार्बजनिक गरेको छ । कुल बिनियोजित बजेट मध्य चालु तर्फ ६० दशमलब ९४ र पूँजीगत तर्फ ३९ दशमलब ०६ प्रतिशत बजेट रहेको छ । त्यस्तै फिक्कल गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि ६० करोड ४० लाख ६५ हजार बजेट विनियोज गरेको छ ।

    यसैबिच जिल्लाको गोलन्जोर गाउँपालिकामा विवाद भएपछि बजेट रोकिएको छ आइतबार गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले आर्थिक बर्ष २०८०/८१ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा विवाद भएपछि बजेट रोकिएको हो ।