नेपाल तामाङ बिद्यार्थी घेदुङ सिन्धुलीको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न
चैत्र ११, सिन्धुली/नेपाल तामाङ बिद्यार्थी घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बहुभाषिक, बैज्ञानिक र ब्यबहारिक शिक्षा नीति सुनिश्चितताको लागि तामाङ भाषा आजको आबश्यकता र महत्व भन्ने नारा सहित सर्मिला बज्यूको अध्यक्षता तथा बागमती प्रदेश सांसद छेत्र बहादुर बोम्जनको प्रमुख आतिथ्यतामा प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सांसद छेत्र बहादुर बोम्जनले निर्वाचनको समयमा तामाङ उम्मेदवार बन्दै गर्दा जुनकुनै पार्टीका तामाङ कार्यकर्तालाई स्पष्टिकरण सोधिनु गलत रहेको बताउनु भयो । जुन कुनै पार्टीबाट पनि अन्य जातका थुप्रै स्थानीय तह देखि संघमा निर्वाचित भए तर तामाङ जातीको निर्वाचित हुँदा स्पष्टिकरण दिनु पर्ने बाध्यता रहेको बोम्जनको भनाई छ ।
उहाँले आफु निर्वाचनमा निर्वाचित हुनमा तामाङ बिद्यार्थी घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीकाको पनि योगदान रहेको बताउनु हुँदै पार्टी र जातिमा फरक रहेको बताउनु भएको हो । बोम्जन सिन्धुलीबाट बागमती प्रदेशमा तामाङ समुदायबाट निर्वाचित हुने पहिलो ब्यक्ति हुनुहुन्छ ।
प्रशिक्षण कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय बरिष्ठ उपाध्यक्ष सरोज मोक्तानले राजनितिमा तामाङ समुदायको भुमिका बिषयमा प्रशिक्षण गराउनु भएको थियो । बरिष्ठ उपाध्यक्ष मोक्तानले अब पनि नाच,गाउने लाई मात्रै अंगालेर हैन राजनितिमा अग्रसर हुनुपर्ने बताउनु भएको हो ।
कार्यक्रममा बोल्नुहुदै नेपाल तामाङ घेदुङका सिन्धुली जिल्ला इन्चार्ज सुर्य पाख्रिनले तामाङ घेदुङले निष्क्रिय भइरहेको समयमा नेपाल तामाङ बिद्यार्थी घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीले उत्कृष्ठ कार्य गरिरहेको प्रशंसा गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङका संघिय महासचिव काजिमान थिङले तामाङ जातिहरुको भाषा,संस्कृती संरक्षणको अबको कार्यभार सम्बन्धि बिषयमा प्रष्ट्याउनु भएको थियो । त्यस्तै उहाँले स्वतन्त्र बिद्यार्थी युनियनमा निर्वाचित तामाङको भुमिकाको बिषयमा पनि प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल तामाङ बिद्यार्थी घेदुङका केन्द्रिय सल्लाहाकार दिनेश लो ले स्ववियु लाई स्तम्भ बनाएर राजनितिमा अगाडि बढ्नको लागि आग्रह गर्नुभएको छ ।
नेपाल तामाङ बिद्यार्थी घेदुङका संघिय बरिष्ठ उपाध्यक्ष बिशाल थिङले तामाङ जाति लाई सरकारी कामकाज,राजनिति जताततै पछाडि पारिएकाले नेतृत्वले ध्यान दिन आबश्यक रहेको बताउनु भयो ।
साथै नेपाल तामाङ बिद्यार्थी घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीले कार्यक्रममा सिन्धुलीमा स्वतन्त्र बिद्यार्थी युनियनमा निर्वाचित सम्पुर्णलाई सम्मान समेत गरेको छ । कार्यक्रममा नेपाल तामाङ बिद्यार्थी घेदुङ बागमती प्रदेशका अध्यक्ष अजय दोङ,बिनुका लामा,सरिता राई लगायतको उपस्थिती रहेको थियो ।