गोलन्जोरमा १ दिने नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सन्चालन, १ सय ६२ जना विरामीले सेवा लिए
फागनु २०, सिन्धुली/गोलन्जोर गाउँपालिकामा १ दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सन्चालन भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको आयोजनामा एक दिने शिविर सन्चालन गरिएको हो ।
गोलन्जोर गाउँपालिका प्रवक्ता एवम् वडा नंं. ७ का अध्यक्ष रेगनराज थापाले शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै गोलन्जोर गाउँपालिका आयुर्वेद उपचारमा जिल्ला कै कमजोर पालिका रहेको बताउनु भयो ।
अन्य पालिकहरुमा नागरिक आरोग्य सेवा केन्द्र निर्माण भइसकेको भएपनि गोलन्जोरमा सुरुवात समेत नभएको थापाले गुनासो गर्नुभयो । अब हुने हिउँदे अधिवेशनबाट बजेट विनियोजन गरेर आयुर्वेद स्वास्थ्य कार्यक्रम गरिने समेत थापाले बताउनु भयो ।
थापाले आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा समावेश गरेर नागरिक आरोग्य सेवा केन्द्र स्थापनाका निम्ति गाउँपालिका तर्फबाट काम अगाडी बढाउने समेत प्रतिबद्धता गर्नुभएको छ । आगामी पाँच वर्षभित्र नागरिक आरोग्य सेवा केन्द्र विहिन पालिकाबाट आयुर्वेद उपचारमा जिल्लाकै पहिलो पालिका बन्ने समेत थापाको दाबि रहेको छ ।
गोलन्जोर गाउँपालिका वडा नं ३ का अध्यक्ष केपी पोख्रेलले स्वास्थ्य शिविर बारे नागरिकमा एक किसिमको भ्रम रहेको बताउनु भएको छ । बिरामीले शिविरमा निःशुल्क पाएको औषधि नियमित रूपमा नखाने हेलचेक्राइँ गर्ने गरको पाइएको उहाँले बताउनु भयो । भ्रमलाई चिर्न नियमित औषधि सेवन गर्न चेतना प्रदान गरेमा मात्र शिविर हरुको प्रभावकारिता हुने समेत पोख्रेलले बताउनु भयो ।
आयुर्बेद शिविर बाट भिडियो एक्सरे, फिजियो थेरापी अक्युपञ्चर, सुगर, प्रेसर, पूर्वकर्म र स्वस्थ जीवनको लागि परामर्श सेवा लगायत सेवा बाट १ सय ६२ जना विरामीले उपचार सेवा लिएको सुुचना अधिकारी दिपकराज तिमल्सिनाले जानकारी दिनुभयो ।
शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. अर्जुन उपाध्याय, डा. सुमन खनाल, आस्था पौडेल, कविन्द्र रोकाय , रामसेवक यादव, विमल श्रेष्ठ, रामराजा अधिकारी र जीवन श्रेष्ठले सेवा तथा परामर्श दिनुभएको थियो ।