हायू एकता समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
फागुन १९, सिन्धुली/हायू एकता समाज नेपाल केन्द्रिय समितिको तेस्रो राष्ट्रिय सम्मेलन आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ । हायु एकता समाज नेपाल केन्द्रिय समितिका अध्यक्ष टलक बहादुर हायूको अध्यक्षता तथा आदिवासी जनजाति महासंघका उपमहासचिव दिबस राईको प्रमुख आतिथ्यतामा हायू एकता समाज नेपाल केन्द्रिय समितिको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आदिवासी जनजाति महासंघका उपमहासचिव दिबस राईले किराँत समुदाय नभई नेपाल सरकार नै चल्न नसक्ने बताउनु भएको छ । देश निर्माणको पहिलो प्रदर्शकको रुपमा किराँति समुदाय रहेको लामो बिरासत रहेको उपमहासचिव राईले बताउनु भयो ।
इतिहास हेर्ने हो भने १० हजार दिव्य बर्षे देखि किरात समुदाय नेपालमा बसोबास गदैँ आएकाले लोप हुने अबस्थामा पुगेको किँरात समुदायको संरक्षण गर्न आबश्यक रहेको उपमहासचिव राईले बताउनु भयो ।
नेपालको लोप हुने अबस्थामा पुगेको हायू जाति सिन्धुलीमा पनि बसोबास गरिरहेकाले स्थानिय सरकारले कुनै संकोच नलिई संरक्षणमा लाग्नु पर्ने उहाँको भनाई छ । शिक्षा,स्वास्थ्य,रोजगारीको क्षेत्रमा हायू जाति अझैपनि पछाडि रहेकाले स्थानिय सरकार,प्रदेश र संघिय सरकारले सहजता प्रदान गर्न आबश्यक रहेको महासचिव राईले उल्लेख गर्नुभयो ।
कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेल,गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल लगायतको उपस्थिती रहेको थियो । हायू एकता समाज नेपाल केन्द्रिय समितिको तेस्रो राष्ट्रिय सम्मेलनले आज नै नयाँ कार्यसमिती समेत चयन गर्ने आयोजकले जनाएको छ ।