• फागुण ७, सिन्धुली/नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि प्रसाद सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिचको भेटवार्ता सक्रिय रहेपनि राष्ट्रपति चुनिने सन्दर्भमा राष्ट्रिय सहमति हुन नसकेको बताउनुभएको छ ।
    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व सभामुख सापकोटाले दाहाल र ओली बिच कुराकानि भएपनि विषय निश्कर्षमा नपुगेकाले अहिले नै केही भन्न नसकिने समेत बताउनुभयो । यहि फागुन १३ गते राष्ट्रपतिको लागि मनोनयन दर्ता गर्ने मिति तोकिएकाले उक्त दिन सम्म केहि निचोड आउने सापकोटाको भनाई छ ।
    विगतका अनुभवहरुबाट शिक्षा लिएर राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चुनिने माओवादी केन्द्रको आधिकारीक निर्णय भएको समेत सापकोटाले बताउनु भयो । साही आधारबाटै राष्ट्रपति चुनिने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षको योजना रहेको तर कुन बिन्दुबाट निश्कर्षमा पुगिन्छ भन्ने अनुमान नभएको वहाँको भनाई छ ।
    राजा ज्ञानेन्द्र शाहको पार्टी निर्माण गर्ने धाराणालाई सम्मान गर्दै नेता सापकोटाले नेपाली नागरिक भएकाले त्यो अवसरका लागि शाहलाई छुट भएको बताउनुभयो । ज्ञानेन्द्र शाहले भोलिका दिनमा पार्टी निर्माण गरेर नेपालको संविधानलाई स्वीकार गर्दै सोहि अनुसार चल्छु भन्ने धारणा राख्नुभयो भने सहकार्य गर्न सकिने समेत स्पष्ट पार्नुभयो ।