• मंसिर १, सिन्धुली/सिन्धुलीमा वाम–लोकतान्त्रिक गठबन्धनले फराकिलो मतान्तरले जित्ने निश्चित भएको छ । चुनावी प्रचास अभियानमा जनताको उत्साहजनक सहभागिताले पनि वाम–लोकतान्त्रिक गठबन्धनले निर्वाचन जित्ने सुनिश्चत नै भएको नेताहरुले दावि गरेका छन् ।
    वाम–लोकतान्त्रिक गठबन्धनमा जनताको आशा र विश्वास रहेकोले सिन्धुलीको दुई ओटै प्रतिनिध सभा र चार ओटै प्रदेश सभामा वाम–लोकतान्त्रिक गठबन्धनले फराकिलो मतान्तरले जित्ने नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक तथा वाम–लोकतान्त्रिक गठवन्धनका निर्वाचन परिचालन समितिका जिल्ला सह–संयोजक पानिराज बम्जनले वताउनुभयो ।
    सिन्धुली खबरसँग कुरा गर्नुहुँदै सह–संयोजक वम्जनले भन्नुभयो “जनतामा गठबन्धन प्रति विश्वास, आशा र भरोसा छ, स्थानीय तहको निर्वाचनमा पनि हामीले गठबन्धनको अभ्यास गरेका छौं, वडाहरुमा स्वस्थ प्रतिस्पर्धा पनि गरेका थियों । स्थानीय तहमा भन्दा प्राप्त गरेको भन्दा पनि बढी मत हामीले ल्याउने निश्चित छ ।”
    वाम–लोकतान्त्रिक गठवन्धमा देखिएको उत्साहले सिन्धुलीको सबै निर्वाचन क्षेत्रमा ७० प्रतिशत मत भन्दा वढी मत ल्याएर सबै उम्मेवारहरुले जित्ने नेपाली काँग्रेसका उपसभापति दिपक घिमिरेले दावि गर्नुभयो । प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार श्याम घिमिरेले १३ हजार मतान्तरे जित्ने र क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ दाहाल (राजन)ले १७ हजार मतान्तरले निर्वाचन जित्ने घिमिरेले दावि गर्नुभयो ।
    गठवन्धनका उम्मेदवारहरु सक्षम, योग्य र राष्ट्रिय राजनितिमा प्रभाव राख्न सक्ने नेताहरु भएका कारण पनि जनतामा आशा विश्वास रहेको समेत उपसभापति घिमिरले वताउनुभयो । एमालेले निर्वाचन क्षेत्र नं. १ मा माओवादीलाई भ्रम छरेर आफू तिर आकर्षित गर्ने र क्षेत्र नं. २ मा काँग्रेसलाई भ्रम छरेर आफू तिर आकर्षित गर्न खोजे पनि त्यो सबैले बुझेकोले एमालेले स्थानीय तहमा प्राप्त गरेको मत पनि संरक्षण गर्न नसक्ने उपसभापति घिमिरेले दावि गर्नुभयो ।