• कार्तिक २६, सिन्धुली/सिन्धुलीको निर्वाचन क्षेत्र नम्वर २ प्रदेश २ का उम्मेदवार गंगा नारायण श्रेष्ठले केपी ओलीले जनतासंग साँढे तीन वर्ष सम्म सपनाको व्यापार गरेको आरोप लगाउनुभएको छ ।

    शनिबार मरिणमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले जनतासंग सपनाको व्यापार गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो । नेपाली जनताको अवस्था र व्यवस्था दुवै बदल्न नचाहाने ओली एमालेले बारम्बार काम गर्न अवरोध गरिरहेको समेत श्रेष्ठले बताउनुभयो । सभालाई सम्बोधन गर्दै बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई आफ्नो मत दिएर जिताएको ६ महिना भित्र धेरै राम्रा कामको सुरुवात भएको स्पष्ट पार्नुभयो । “मंसिर ४ गतेसम्म हाम्रो जिम्मा हजुरहरुले लिनुहोस्, त्यसपछि पाँच वर्षको लागि तपाईंहरुको जिम्मा हामी लिनेछौं” उहाँले भन्नुभयो । श्रेष्ठले स्थानीय तहबाट गर्न नसकेका काम प्रदेश सरकार र प्रदेशबाट गर्न नसकेका काम संघिय सरकारबाट गर्ने तथा उक्त कार्य गर्नका लागि बजेटको अवाभ हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

    “यहाँ सडक, स्वास्थ्य, शिक्षा, नदी नियन्त्रण, वेरोजगारी लगायतका धेरै कुराहरुमा काम गर्नुपर्ने छ त्यो काम हामी गर्छौं । जसरी स्थानीय तहको सरकारमा बाम–लोकतान्त्रिक गठबन्धनको सरकार बनेको छ त्यसै गरी प्रदेश र संघिय तहको सरकारको नेतृत्व गर्ने अवसर हामीले प्राप्त गर्नु छ । हामीलाई एक पटक विश्वास गर्दिनुस् हामी तपाइँको विश्वास माथि कुठाराघात गर्नेछैनौँ,” श्रेष्ठले भन्नुभयो । जनतासंग सपनाको व्यापार गरेर जनताको विश्वास माथि धोका दिने अधिकार कसैलाई नभएको श्रेष्ठको कथन छ ।