• कात्तिक २५, सिन्धुली/बाम–लोकतान्त्रिक गठबन्धनका प्रदेश सभा २(२) का साझा उम्मेदवार गंगानारायण श्रेष्ठले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा केपी ओलीले नेतृत्व गरेको प्रतिगामी गठबन्धनले जित्यो भने गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, संघीयता खतरामा पर्ने वताउनुभयो ।
    बाम–लोकतान्त्रिक गठबन्धनले मरिण गाउँपालिका वडा नं. २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले ओली एमालेले गणतन्त्र विरोधी, धर्मनिरपेक्षा विरोधी, संघीयता विरोधी राप्रपा, कमल थापाहरुसँग गठबन्धन गरेर निर्वाचनमा आएकाले आगामी निर्वाचन अग्रगमन पक्षधर र प्रतिगमन पक्षधर विचको संघर्ष भएको वताउनुभयो । कार्यक्रममा श्रेष्ठले मंसिर ४ को निर्वाचनले संघीयता, धर्मनिरपक्षता, गणतन्त्र रहने वा नरहने फैसला गर्ने भएकोले लामो संघर्ष र वलिदानीबाट प्राप्त गणतन्त्र, समानुपातिक समावेशीता, संघीयता, धर्मनिरपक्षतालाई जोगाउन मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।
    उम्मेदवार श्रेष्ठ भन्नुभयो ‘राप्रपाको मुख्य एजेण्डा भनेको अहिलेको गणतन्त्र मासेर राजतन्त्र स्थापना गर्ने, अहिलेको संघीयता मासेर एकात्मक राज्यव्यवस्थाको स्थापना गर्ने, अहिलेको धर्मनिरपेक्षता मासेर हिन्दु राज्य स्थापना गर्ने हो । संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरुसँगको गठबन्धन गरेर ओली एमाले आई रहेको अवस्थामा उनीहरुले राज्य सत्तमा पुग्यो भने हजरौं नेपालीले रगत बगाएर ल्याएको राज्य व्यवस्था गुम्छ, त्यसो भएको हुनाले संघीयता, धर्मनिरपक्षता गणतन्त्र राख्नेकी मास्ने भन्ने छिनोफाना मंसिर ४ को निर्वाचनले गर्ने भएकोले प्राप्त उपलब्धीको रक्षाका लागि बाम–लोकतान्त्रिक गठबन्धनलाई मतदान गरेर विजयी गराईदिन अनुरोध गर्दछु ।’
    कार्यक्रममा बोल्दै नेता श्रेष्ठले बाम–लोकतान्त्रिक गठबन्धनको सरकार बनेपछि विकास निर्माणको लागि कुनै पनि ठाउँमा बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो । ‘आगामी पाँच वर्षमा समग्र सिन्धुलीलाई समृद्ध वनाउन गुरुयोजना वनाएर अगाडी बढ्नेछौं । सिन्धुलीका हामी राष्ट्रिय राजनितीमा प्रभाव पार्नसक्ने व्यक्तिहरु बाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका छौं, राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका खेलेर समग्र सिन्धुलीलाई समृद्ध वनाउन कुनै कसर बाँकी राख्ने छैनौं । मरिणलाई आधुनिक शहर निर्माण गरेर सुविधा सम्पन्न बनाउनेछौं ।’ उम्मेदवार श्रेष्ठले भन्नुभयो ।