जनताको अभिमतलाई अपमान गर्ने एमालेलाई किन मत दिने ? : श्याम घिमिरे
कात्तिक २२, सिन्धुली/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा क्षेत्र नं. १ का साझा उम्मेदवार श्याम घिमिरेले असंवैधानिक तबरबाट दुई दुई पटक संसद विघटन गर्ने र पुनस्थापित संसदलाई वन्धक बनाउने एमालेलाई मत माग्ने नैतिकता नै नभएको वताउनुभयो ।
तीनपाटन गाउँपालिका वडा नं. १० मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार घिमिरेले ‘आफ्नो दुईतिहाँई नजिकमा रहेको संसद विनाकारण असंवैधानिक तवरबाट विघटन गर्ने, संसद पुनस्थापना भई सके पछि छ÷छ महिना संसद अवरुद्ध गर्ने जनताको मतलाई अपमानित गर्ने त्यो नेकपा एमालेलाई किन मत चाहियो ? किन संसद जित्नु प¥यो ? नेपाली जनताले प्रश्न गर्नु पर्छ’ भन्नु भयो ।
घिमिरेले नेकपा एमालेले सरकारमा रहेको अवस्थामा राष्ट्रपतिको पद दुरुपयोग गरिएको र संवैधानिक अंगहरुमा हस्तक्षप गरेर अस्तित्व नै समाप्त पार्ने काम गरेर लोकतन्त्र नै समाप्त पार्ने प्रयत्न गरेको वताउनुभयो । लोकतन्त्र र संविधानको रक्षाको लागि नेपाली काँग्रेसको नेतृत्वमा अग्रगामी शक्तिहरु मिलेर संघर्ष गरेर गठबन्धन गरिएको र अब प्राप्त उपलब्धीको रक्षा र विकास निर्माणको नेतृत्व पनि गठबन्धनले नै गर्ने पनि बताउनुभयो ।
उम्मेदवार घिमिरेले सिन्धुली निर्वाचन क्षेत्र नं. १ मा विगतका २५ वर्षमा गरिएको विकास भन्दा वढी विकास आफू निर्वाचित भए पछि पाँच वर्ष भित्र गर्ने पनि प्रतिवद्धता गर्नभयो । उहाँले सिन्धुली–चकमके–कटारी सडक, गोदार–डकाहा–चकमके–सुलिभन्ज्याङ सडक र खनियाखर्क–तीनकन्या–चौहारी सडक प्रमुख प्राथमिकता भित्र राखेर काम गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
सिन्धुलीको जनताका इच्छा चाहानालाई सम्बोधन गर्न र राष्ट्रिय राजनीतिमा सक्रिय रहँनका लागि आफ्नो उम्मेद्वारी भएको वताउदै घिमिरेले सिन्धुली क्षेत्र नं. १ मा राष्ट्रिय रणनीतिक कार्यक्रमको कमिहुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । घिमिरेले आफ्नो उम्मेदवारीको शिक्षा, स्वास्थ्य र सडक नै मुख्य एजेण्डा रहेको बताउनुभएको छ ।
सरकारी अस्पताल पूर्णरुपमा निशुल्क हुनुपर्ने र सार्वजनिक शिक्षा ध्वस्त भएकाले सार्वजनिक शिक्षालाई अत्यन्त महत्वका साथ आमुल परिवर्तन गरेर सार्वजनिक शिक्षामा आकर्षण बढाउनुपर्ने मान्यता रहेको उहाँले बताउनुभयो । त्यस्तै, अहिलेको युग सर्टिफिकेट भन्दा पनि सिपको युग भएकाले सिपमूलक शिक्षा र प्राविधिक शिक्षा प्रत्येक माध्यमिक विद्यालयमा पु¥याउनुपर्छ भन्ने आफ्नो महत्वपूर्ण ऐजेण्डा रहेको घिमिरेले बताउनुभयो ।