• ७ असार सिन्धुली/मरिण गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । दोस्रो गाँउसभामा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको हाे ।

    मरिण गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को लागि कुल ६३ करोड भन्दा बढी बजेट सार्वजनिक गरेको हो । दोस्रो गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका उपाध्यक्ष विमला माझीले संघिय, प्रदेश सरकार र स्थानिय सरकारको गरी कुल ६३ करोड २३ लाख ३३ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । सार्वजनिक बजेट अनुसार चालु खर्च तर्फ १९ करोड, ५० लाख ९९ सय हजार ८ सय र पुँजीगत खर्च तर्फ १६ करोड ६२ लाख ४० हजार रहेको छ ।

    त्यस्तै सशर्त अनुदान तर्फ २२ करोड ५४ लाख २४ हजार समपुरक अनुदान तर्फ ३ करोड ५ लाख ७० हजार र विशेष अनुदान तर्फ १ करोड ५० लाख रुपँयौ विनियोजन गरिएको उपाध्यक्ष माझीले बताउनुभयो । बैठकमा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले आर्थिक बर्ष २०७९।०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष विमला माझीले बजेट प्रस्तुत गर्नभएको थियो ।

    गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले मरिण गाँउपालिकाले आउदो आर्थिक वर्षको लागि निर्माण भएका विभिन्न निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सास्कृतिक सम्पदाको संरक्षण गरिने र पर्यटन प्रवद्र्धनको लागि पर्यटकीय क्षेत्रलाई बिकास गरिने निति रहेको बताउनुभएको छ । मरिण गाउँपालिकाको सडकहरुको स्तरोन्नती गरि बाह्रै महिना सवारी साधन चलाउन मिल्ने बनाउने निति अवलम्बन गरिने बताउनुभयो । स्थानीय जडिबुडिको संरक्षणको लागि पहल गरिने, कुपोषित बालबालिकाको लागि पोषणयुक्त कार्यक्रमहरु संचालन गरिने निति रहेको छ ।

    यस्तै, आगामी तीन वर्षमा गाँउपालिकाको प्रत्यक वडाको भवन निर्माण कार्य सम्पन्न गरिने बताइएको छ । मरिण गाउँपालिकालाई फलफुल पकेट क्षेत्र बनाईने, शिक्षा क्षेत्रमा सरकारी विद्यालयहरु संचालनमा विषेश पहल गरिने र विद्यालय जान समस्या हुने बालबालिकाको लागि प्रदेश सरकारको सहयोगमा विद्यालय बसको व्यवस्था गर्ने निति यस आर्थिक वर्षमा रहेको छ । असहाय अपांगताहरुको लागि सेल्फ हाउसको व्यवस्था गरिने, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुलाई टोल टोलमा नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईने, एकल पुरुषलाई पनि भत्ता उपलब्ध गराईने र ज्यष्ठ नागरिकलाई महिनामा एक पटक स्वास्थ्य जाचको व्यवस्था गर्ने निति मरिण गाँउपालिकाले ल्याएको छ ।

    यस्तै, महिला हिंसा न्युनिकरणको लागि महिला उद्यमशिलता सम्बन्धि कार्यक्रम संचालन गरिने र बालबालिकाको हकमा बालमैत्रि कार्यक्रम संचालन गरि गाउँपालिकाका प्रत्यक होटल तथा उद्योगहरु बालमैत्री बनाउने गाँउपालकाको निति रहेको छ । त्यस्तै, लोपउन्मुख तथा जनजाति युवाहरुको क्षमता विकासका लागि विभिन्न कार्यक्रम ल्याईने, गाउँपालिका बासीलाई स्वस्च्छ खानेपानीको लागि गैरसरकारी सस्थाहरुको सहयोगमा खानेपानी व्यवस्था गरिनेछ ।

    यस्तै, आर्थिक वर्ष २०७९÷८० को बजेट बिवरण प्रस्तुत गर्नुहुँदै गाँउपालिकाका उपाध्यक्ष विमला माझिले सिमित स्रोत साधनले जनताको असिमित ईच्छा र आकांक्षालाई पुरा गर्न नसकिने बताउनुभयो । मरिण समृद्धिको लागि गाँउपालिकाले लिएको कृषि, पशुपालन र पूर्वाधार, मरिण गाँउपालिकाको विकासको आधार भन्ने दिर्घकालिन सोच सहित स्वास्थ्य, सभ्य र सास्कृतिक समाजको निर्माण गर्ने दिसातर्फ आगामी आर्थिक वर्षको बजेट लक्षित रहेको पनि उपाध्यक्ष माझिले बताउनुभयो ।