• सिन्धुली, १५ फाल्गुण ।
    नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्रकुमार पोख्रेल विजयी भएको छ । चौधौँ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनको निर्वाचनमा पोख्रेलले निवर्तमान सभापति उज्वलप्रसाद बराललाई भारी मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।
    सोमवार भएको दोस्रो चरणको निर्वाचनमा १ हजार ३७१ मत खसेकोमा पोख्रेलले ८ सय ८५ मत प्राप्त गर्नु भएको थियो भने बरालले ४ सय ७७ मत प्राप्त गरेको र ९ मत बदर भएको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारी दिनुभयो ।
    आइतबार भएको निर्वाचनमा उम्मेदवारहरू मध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेको हुँदा नेपाली काँग्रेसको विधान अनुसार पुनः मतदान भएको थियो । सभापति पदका लागि आइतबार भएको पहिलो चरणको निर्वाचनमा उपेन्द्र पोखरेलले ४८३, उज्ज्वल बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गर्नु भएको थियो । जिल्ला अधिवेशनमा सहभागी हुने एक हजार ५ सय ३५ जना मतदाता रहेकोमा १ हजार ४ सय ४० मत खसेकोमा ५१ मत बदर भएको थियो ।
    पोखरेल नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति, तरुण दलको जिल्ला अध्यक्ष, संस्थापक निर्वाचित नगर सभापति, पहिलो पार्टीको प्रवक्ता, निर्विरोध पार्टी सचिव, २०५४ सालमा वडा नं. ५ को वडा अध्यक्ष, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै निरन्तर २८ वर्ष देखी पार्टीको नेतृत्वदायी भूमिकामा रहँदै आउनु भएको छ ।