• स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पूरा हुनलागेको छ । निर्वाचनका समयमा उमेद्वारहरुले जनताको भोट बटुल्न निकै आश्वासनहरु बाँडेको कुरा घाम झैँ छर्लङ्ग छ । त्यतिमात्र नभएर चुनावका बेला उमेद्वाहरुले जनताका नाममा सयौँ प्रतिवद्धताहरु छापेर बाँड्न भ्याए । तर निर्वाचित भएपछि ती प्रतिवद्धताहरु कसैले पूरा गरे भने कसैले भोट बैंक मात्र बनाए । यसै सन्दर्भमा सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीका वडा अध्यक्ष गोविन्द बहादुर राउतसंग हामीले ५ प्रश्न राखेका छौँ ।

    १) निर्वाचनमा गुर्नभएको प्रतिवद्धता अनुसारका कामहरु कति पूरा भए ?
    – चुनावमा मैले गरेका प्रतिवद्धता मध्यका ९० प्रतिशत काम सकियो । अलिकति खानेपानीको काम बाँकी छ । त्यस मध्ये चँदाहा नियन्त्रणको केहि काम बाँकी छ । विद्यालय भवन र प्राथमिक स्वास्थ्य केन्द्रको भवन वनाउने काम सोचेको भन्दा पनि राम्रे काम भएको छ । समग्र मुल्याङ्कनमा चुनावको वेला गरेका प्रतिवद्धता अनुसार ९० प्रतिशत भन्दा बढि काम भएको छ ।

    २) वडा अध्यक्ष भएपछि महत्वपूर्ण काम के के गर्नुभयो ?
    – म वडा अध्यक्ष भएपछि प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न बनाइएको छ । एम्बुलेन्स नभएर अत्यन्तै समस्या भएको अवस्था थियो तर अहिले एम्बुलेन्स सूचारु गरेका छौं । हाम्रो वडा दुईओटा भूगलमा विभाजित छ । साविकको बेलघारी गाविसको ५, ६, ७ र ८ एकातिर र १, २ ,३ , ४ र ९ एकातिर छ । विचमा ठूलो जंगल छ । त्यहाँ विचमा बाटो थिएन । हामीले बाटो बनाएर नियमित गाडी हिँड्ने बनाएका छौं ।
    बेलघारीबाट सिधै चकमके जान सक्ने अवस्था थिएन । बिचमा खोलाले निकै समस्या भएको थियो । अहिले झुँगा खोलामा पुल निर्माण भई सकेको छ भने लंगुरखोलामा निर्माणधिन रहेको छ । तीनपाटन गाउँपालिका वडा नं. १ र २ जोड्ने चँदाहा खोलामा ३ सय ९ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन रहेको छ । यो योजना निर्माणको लागि निक्कै ठूलो योगदान गरेको छु । साविक बेलघारी गाविसको वडा नं. ५,६,७ र ८ मा खानेपानी समस्या थियो । नेवा संस्थाको सहयोगमा लिफ्टबाट तानेर खानेपानी वितरण गरिएको छ ।

    ३) स्थानीय तहमा भ्रष्टाचार बढिरहेको छ भनिन्छ । भ्रष्टाचार नियन्त्रण गर्न के कस्तो पहल गर्नुभयो ?
    – भ्रष्टाचारबाट म टाढै छु । मैले यो काम गरिदिए वापत यति चाहिन्छ वा यो काम गरिदिनु, म यति दिन्छु भन्ने काम मबाट हुँदैन र भएको पनि छैन । अरुले गरेको थाहा पाएँ भने पनि विरोध गरेको छु । जनप्रतिनिधि वा कर्मचारी भएपछि जनताको काम गर्नु कर्तव्य हुन आउँछ । आफूले गरिदिनुपर्ने काम पैसामा लेनदेन हुँदैन भन्ने मेरो प्रष्ट धारणा छ । अन्य कर्मचारी साथिहरुबाट कतै त्यस्तो कुरा आयो भने त्यसलाई नियन्त्रण गर्न म आफ्नो अधिकारले भ्याएसम्म नियमन गरेको छु । जहाँसम्म लाग्छ मेरो वडामा त्यस्तो भ्रष्टाचारका कुनै पनि कार्य भएको छैन ।
    कार्यपालिकाबाट भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै नीति कार्यक्रम नै निर्माण गरेर काम गर्न नसकिए पनि नेपाल सरकारले निर्माण गरेको भ्रष्टाचार नियन्त्रण निवारण नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न म कडा रुपमा उभिने गरेको छु । तीनपाटन गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणको क्रममा भेरिएसनको नाममा भ्रष्टाचार भएको भन्ने कुरा उठेपछि हामीले व्यापक रुपमा छलफल गर्यौँ । प्राविधिक सहितको सर्वदलीय छानविन समिति नै गठन गरेर अध्ययन नै गर्ने काम भएको छ । त्यो समितिले काम पनि गर्दैछ । तर कार्यपालिकाबाट नै भ्रष्टाचार निवारणका लागि छुट्टै रणनीति निर्माण भएन ।
    ४) नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । आगामी निर्वाचनमा तपाईंको उमेद्वारी केमा रहन्छ ?
    – आगामी निर्वाचनमा म पुनः वडा अध्यक्षको उमेद्वारीको तयारीमा छु । त्यो भन्दा माथि पार्टीका अन्य साथीहरु पनि हुनुहुन्छ । त्यस्तै परिस्थिति आयो भने सोच्नु पर्ला । अहिले चाहीँ वडाको नै तयारीमा छु ।
    ५) अहिलेको निर्वाचन प्रणली निक्कै खर्चिलो छ भन्छन् । तपाईंले कति खर्च गरेर निर्वाचित हुनुभयो र खर्च कम गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
    – तपाईंले निक्कै गम्भिर र चासोको प्रश्न गर्नुभयो । यो उमेद्वारहरुको प्रमुख चुनौतिको विषय हो । यति खर्च गरियो भनेर त ठ्याक्कै भन्न सकिँदैन । निर्वाचन निक्कै खर्चिलो छ । अबको चुनाव झन खर्चिलो हुनेवाला छ । चिया पसल, चोकमा कुरा गरिरहेका हुन्छन् । चुनावमा नै हो सबैचिज खान पाईने भन्ने माहोल हुन्छ, बुझाइ हुन्छ । यसको रोकथामका उपायहरु पनि छन् । पार्टी कमिटि प्रशिक्षित भयो भने कार्यकर्ताहरुमा भड्कीलो खर्चिलो निर्वाचन गराउनु हुँदैन भन्ने चेतनाको विकास गराउन सकियो भने पनि खर्च नियन्त्रण हुन्छ । धेरै खर्च गर्नु भनेको भोली जनप्रतिनिधिलाई भ्रष्टाचार गर्न बाध्य वनाउनु हो भन्ने कुरा कार्यकर्ता र जनतापङ्तीमा चेतना हुनु जरुरी छ । लगानी गरेपछि जनप्रतिनिधिले भ्रष्टाचार गरेर नै उठाउने हो । यसले झन बढी भ्रष्टाचार हुन्छ । पार्टी कमिटि नै प्रशिक्षित भएर अघि वढ्नु पर्छ । खर्चिलो निर्वाचनले लोकतन्त्र नै धरापमा पर्ने अवस्था छ । अब पार्टीले चुनावमा खर्च गर्न सक्नेलाई टिकट दिन बाध्य हुनु पर्ने अवस्था आएको छ । यसले फेरी हुनेखानेले मात्र खर्च गर्न सक्ने र सत्तामा पुग्ने अवस्था आएको छ । यो पद्धतिलाई अन्त्य गर्न पार्टी संगठन नै लाग्न जरुरी छ ।
    कम खर्चमा नै निर्वाचनमा जानुपर्छ भनेर पार्टीले रणनीति निर्माण गरिरहेको छ । म पनि निर्वाचनलाई भड्कीलो बनाउनु हुँदैन भन्ने पक्षमा छु । पार्टी कमिटि सानो र चुस्त बनाएर निर्वाचनमा परिचालन गर्ने तथा निर्वाचनमा व्यक्तिले भन्दा पनि पार्टीले नै खर्च गरेर जाने हो भने भोली भ्रष्टाचारको संभावना कम हुन्छ जस्तो लाग्छ । म पनि यहि पक्षमा छु ।