• सिन्धुली/विश्व समुदायमा कुनै पनि देशको समंग्र अवस्था कस्तो छ भनेर थाहा पाउन त्यहाँको सुशासनको अवस्थाले पनि खास भूमिका राख्छ । यसै सन्दर्भमा भ्रष्टाचार सूचकांक–२०२१ मा नेपाल ११७ औँ स्थानमा यथावत रहेको छ । सन् २०२० मा पनि नेपाल यहि स्थानमा थियो ।

    भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) ले जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपालले ३३ अंक पाएको छ र ११७ औं स्थानमा यथावत रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार पहिलेको अवस्थामा नै यथावत रहनु भनेको भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति गर्न नसक्नु हो ।

    सर्वेक्षण गरिएका १८० देशहरुमध्ये फिनल्यान्ड, डेनमार्क र न्यूजिल्यान्डले समान ८८ अंक ल्याएर पहिलो नम्वरमा परेका छन् । यिनिहरुमा सुशासनको अवस्था अव्वल रहेको मानिन्छ । दक्षिणी सुडानले सबैभन्दा कम ११ अंक ल्याएर सबैभन्दा बढि भ्रष्टाचार हुने मुलुकमा परेको छ । दक्षिण एसियाली देशहरुमा अफगानिस्तानले सबैभन्दा कम १६ अंक ल्याएको छ भने भुटानले ६८ अंक ल्याएर भ्रष्टाचार कम हुनेमा नाम लेखाएको छ । भारत र माल्दिभ्सले समान ४०÷४० अंक ल्याएका छन् भने श्रीलंकाले ३७ अंक पाएको छ । पाकिस्तानले २८ अंक र बंगलादेशले २६ अंक पाएका छन् ।