• जेठ १७, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकामा कोरोनाका कारण एकजना बृद्धाको ज्यान गएको छ । फिक्कल गाउँपालिका वडा नं. ४ खाङ्साङ सल्लेरीकी ७२ वर्षिय बृद्धाको सोमबार बिहान मृत्यु भएको हो ।
    कोरोना संक्रमित बृद्धालाई उपचारका लागि फिक्कलकै आइसोलेशनमा राखिएको थियो । ‘शनिबारसम्म वहाँमा अक्सिजनको मात्रा ठिक थियो, तर आइतबार रातिबाट अक्सिजनको मात्रा निकै कम भयो । बाहिर रिफर गर्ने तयारी गर्दागर्दै वहाँको मृत्यु भयो,’ फिक्कल गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ फुयाँलले भन्नुभयो । मृतककी छोरीमा पनि कोरोना पोजेटिभ देखिएपछि फिक्कलमै आइसोलेशनमा राखेर उपचार गरिएको थियो । अहिले उनलाई काठमाण्डौ रिफर गरिसकिएको छ ।
    फिक्कल गाउँपालिकाको आइसोलेशनमा अहिले २ जना कोरोना संक्रमितहरु रहेका छन् । एकजनाको अवस्था सामान्य रहेको र अर्काेलाई रिफरको तयारी भैरहेको स्वास्थ्य संयोजक फुयाँलले जानकारी दिनुभयो । फिक्कल गाउँपालिकामा अक्सिजन सहितको १० बेडको आइसोलेशन रहेको छ । मृतकको घरमा कन्ट्याक्ट टे«सिङ गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।