• जेठ १३, सिन्धुली/कमलामाई नगरपालिकाको वडा नं.५ अन्तरगत देउराली सडक ढलानदेखि रानीखोला दायाँ बायाँ मोटरबाटो स्तरउन्नति गर्ने काम अन्तिम चरणमा पुगेको छ । स्थानिय निकाय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तरगत निर्वाचन क्षेत्र नं. २ को आर्थिक सहयोगमा उक्त मोटरबाटो स्तरउन्नति गर्ने काम भैरहेको छ ।

    स्थानिय निकाय पूर्वाधार विकास कार्यक्रम अन्तरगत प्राप्त भएको जम्मा ७ लाख ५० हजार रुपैयाँको लागतमा देउरालीदेखि रानीखोला जोड्ने दुवैतिरका सडकमा काम भैरहेको छ । इष्टिमेट अनुसार रानीखोलाको दायाँ सडकमा ८० मिटर नाला बनाउने काम भैरहेको छ भने बायाँ सडकमा १४ मिटर नाला सहितको ढलान गर्ने काम सकिएको छ । त्यस्तै बायाँतिरकै मोटरबाटोमा ३० थान जाली लगाउने काम समेत योजनामा रहेको छ । उक्त मोटरबाटोमा वर्षाको पानीले आएको पहिरोका कारण यातायात नै अवरुद्ध हुनेगरि बाटो भत्काएको छ ।

    सम्झौता अनुसार जेठ मसान्तसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने उपभोक्ता समितिका अध्यक्ष सरोज विकले जानकारी दिनुभयो । केहि दिनदेखि परेको पानीले काम गर्न अप्ठेरो पारिरहेको अध्यक्ष विकले बताउनुभयो । मौसमले साथ दिए समय अगावै योजना अनुसारको काम सम्पन्न गर्नेगरि लागिपरेको वहाँको भनाई छ । योजना अनुसार गुणस्तरिय काम समयमै सम्पन्न गराउनका लागि वडा कार्यालयले निरन्तर अनुगमन तथा निगरानी गरिरहेको कनपा.५ का वडा अध्यक्ष पूर्ण वहादुर खड्काले जानकारी दिनुभयो ।