• जेठ २, सिन्धुली/सिन्धुली एकता बचत तथा ऋण सहकारी सँस्थाले कमलामाई नगरपालिका वडा नंं. ५ को कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आइतबार सँस्थाका अध्यक्ष रमाकान्त सुवेदीले वडा अध्यक्ष पूर्ण वहादुर खड्कालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
    सँस्थाले मास्क २००० थान, सय एम.एल.को सेनिटाइजर १०० थान, पाँच सय एम.एल.को सेनिटाइजर ६ थान र हात धुने डिटोल साबुन १८० थान वडा कार्यालयलाई उपलव्ध गराएको छ । कोरोना महामारीको चरम संकटको अवस्थालाई मध्यनजर गर्दै सँस्थाका अध्यक्ष एवं प्रवन्धकको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
    कोभिड–१९ को महामारीका समयमा संक्रमितहरुलाई उपचारमा केहि राहत पुगोस भन्ने हेतुले सहकारी सँस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत स्वास्थ्य सामाग्री वितरण गरिएको सँस्थाका अध्यक्ष रमाकान्त सुवेदीले बताउनुभयो । वडाका सेवाग्राही र संक्रमितहरुलाई सँस्थाको तर्फबाट थोरै भए पनि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको सहकारीका प्रवन्धक दिपेन्द्रध्वज बस्नेतले बताउनुभयो ।
    कोरोनाको दोश्रो लहरले उव्जाएको महामारीका समयमा सहकारी सँस्थाले वडाबासीहरु र संक्रमितहरुका लागि स्वास्थ्य सामाग्री उपलव्ध गराएको भन्दै वडा अध्यक्ष पूर्ण वहादुर खड्काले सहयोगी सँस्थालाई धन्यवाद दिनुभएको छ । साथै वहाँले स्वास्थ्य समस्यामा परेका सेवाग्राही तथा संक्रमितहरुलाई उक्त स्वास्थ्य सामाग्री वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । सिन्धुली एकता जस्तै अन्य मनकारी सँस्थाहरुले महामारीका समयमा सहयोगका कार्यक्रमहरु ल्याउनसके समस्या समाधानमा थप सहयोग पुग्ने वहाँको भनाई छ । सँस्थाका अध्यक्ष रमाकान्त सुवेदीले यो सहयोगको पहिलो प्रयास भएको भन्दै आगामी दिनमा सँस्थाले सकेको सहयोग उपलव्ध गराउने कुरामा कुनै दुविधा नराख्ने समेत बताउनुभएको छ ।