• सिन्धुली/कमलामाई नगरपालिका वडा नं.९ स्थित जिल्लाकै पूरानो मध्यको एक मानिने श्री जनजागृति मावि भिमानले स्कूल बस सन्चालन गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सांसद लेखनाथ दाहाल (राजन) ले स्कूल बसको उद्घाटन गर्नुभएको हो ।
    बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्धारा प्राप्त अनुदान रकमबाट उक्त स्कूल बस सन्चालन गरिएको जनजागृति मावि भिमानका प्रधानाध्यापक कृष्ण निरौलाले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयले दिएको २५ लाख रुपैयाँबाट सवै प्रकृया पूरा गरी स्कूल बस खरिद गरिएको प्रधानाध्यापक निरौलाले बताउनुभयो । बसको मूल्य ३५ लाख ७० हजार रुपैयाँ पर्ने भएपनि अर्थ मन्त्रालयसंग अनुरोध गरेर कर छुट गराई अनुदान प्राप्त रकमबाट नै स्कूल बस खरिद गरिएको निरौलाको भनाई छ ।
    स्कूल बसको उद्घाटन गर्दै प्रदेश सांसद लेखनाथ दाहाल (राजन) ले विद्यालयको शैक्षिक गुणस्तर विकासका निम्ति सहयोग गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । साथै सांसद दाहालले आफ्नो एक्लो पहलमा भन्दा पनि सवैको साथ र सहयोगमा विद्यालयले बस सन्चालनको अवसर प्राप्त गर्न सकेको धारणा व्यक्त गर्नुभयो । वहाँले जनजागृति मावि भिमानमा प्राविधिक शिक्षा सन्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
    सिन्धुलीको प्रवेशद्धार मानिने भिमानमा सन्चालित विद्यालयमा प्रदेश सरकारको सहयोगले स्कूल बस सन्चालन गर्न पाउनु ठूलो अवसर भएको प्रधाानाध्यापक कृष्ण निरौलाको भनाई छ । बागमती प्रदेश सरकारको अनुदान सहयोगमा सिन्धुलीका दुईवटा विद्यालय प्रगतिशिल मावि झाँगाझोली रातामाटा र जनजागृति मावि भिमानले स्कूल बस सन्चालन गर्नेछन् । निकै पूरानो र दर्जनौँ विद्धानहरु जन्माएको विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि स्कूल बस सन्चालन पश्चात निकै सहज हुने क.न.पा.९ भिमानका युवा अभियन्ता दिनेश न्यौपानेको बुझाई छ ।