• सिन्धुली/आस्था र सद्भावको पर्व मानिने छठ सिन्धुलीमा पनि मनाइएको छ । सूर्यको आराधना गरी मनाइने छठ पर्व सिन्धुलीका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको हो ।

    सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.४ ढुंग्रेवास नजिकको खोला, वडा नं.५ कालीमाई मन्दिर मुनीको ग्वाङ्खोला, वडा नं. ६ को हाटबजार लाग्ने नजिक र धुराबजारको ग्वाङ्खोलामा छठ मनाइएको छ । कोरोना महामारीमा जो जहाँ बसेको छ त्यहिँ रहेर पर्व मनाउन नेपाल सरकारले आग्रह समेत गरेको छ । सामाजिक दूरी कायम गर्दै गएका वर्षहरुमा भन्दा थप संयमित भएर स्वास्थ्यको ख्याल राख्दै छठ पर्व मनाइरहेको कमलामाई नगरपालिका वडा नं.६ का सन्जिव शाहले बताउनुभयो । शनिवार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा समापन गरिने पनि वहाँको भनाई छ ।
    चर्म रोग निको हुने, सुख शान्ति प्राप्ति तथा सन्तान प्राप्त हुने विश्वासका साथ आपसी सद्भावको प्रतीकका रूपमा छठ मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी सम्म मनाइने छठको आज मुख्य दिन हो । नजिकको खोला किनारमा बनाइएको छठघाटमा पूजाआजा सहित अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने शनिवार उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा आजा गरेपछि छठ समापन हुन्छ । सिन्धुलीका विभिन्न स्थानमा मनाइएको छठमा मधेशी र पहाडी आपसी सद्भाव कायम राख्दै समान रुपमा पर्व मनारहेको देख्न सकिन्छ ।