• सिन्धुली/कमलामाई नगरपालिका वडा नंं. ६ शिवनगरमा निर्माणाधिन आइसोलेशन भवनका लागि सहयोग जुट्ने क्रम निरन्तर छ । यसैक्रममा नेपाल रास्ट्रिय शिक्षक सङगठन सिन्धुलीले २ लाख ७२ हजार ७ सय ५ रुपैंया नगद सहयोग गरेको छ ।
    आइतबार संगठनका अध्यक्ष पुरुषोत्तम पहाडीले आइसोलेशन भवन निर्माण समितिलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कोरोनाको महामारीका समयमा निर्माण भैरहेको आइसोलेशन भवनका लागि रकम अभाव हुन नदिने विषयमा थोरै भएपनि सहयोग पुग्ने हेतुले संगठन आवद्ध शिक्षकहरुबाट रकम संकलन गरेर भवन निर्माणका लागि सहयोग उपलव्ध गराएको संगठनले जनाएको छ ।
    सहयोग उपलव्ध गराउने क्रममै शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले पनि आइसोलेसन भवन निर्माणका लागि आर्थिक सहयोग उपलव्ध गराएको छ । आइतवार नै सहकारीका अध्यक्ष कृष्णहरी घिमिरेले आइसोलेसन भवन निर्माण उपभोक्ता समितिलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहकारीले २५ हजार ५ सय ५५ रुपैंया सहयोग उपलव्ध गराएको छ । आइसोलेशन भवन निर्माणको अन्तिम चरणमा रहेको समितिले जनाएको छ ।