• ध्रुवचन्द्र खड्का

    सिन्धुली/जम्मा २० दिनको समयावधिमा सम्पन्न गर्ने योजना सहित निर्माण कार्य सुरु गरिएको यहाँ निर्माणाधिन आइसोलेशन भवनको निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा निर्माणाधिन आइसोलेशन भवन निर्माणका लागि सहयोग जुट्ने क्रम पनि उत्तिकै छ ।
    कमलामाई नगरपालिका कार्यालयले पहिलो चरणमा दिएको ३ लाख रुपैयाँले उपभोक्ता समितिको नाममा खाता खोली आइसोलेशन भवनको निर्माण कार्य सुरु गरिएको हो । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सरकारको ९७ लाख रुपैयाँ र बाँकी स्थानीय तह, संघसँस्था तथा अन्य समाजसेवीहरुको सहयोगमा निर्माण सम्पन्न गर्ने योजना सहित निर्माण सुरु गरिएको भवन निर्माण सम्पन्न गर्ने समय अव एक हप्ता मात्र बाँकी छ । तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न हुनेमा शंका गर्नेहरुको जमात पनि सानो छैन । आर्थिक सहयोग गर्ने मनकारीहरुलाई सहयोग नगर्न उक्साउनेहरु पनि नभएका होइनन् । तर सहयोग नगर्ने भन्दा मनकारी र मानवीय सेवामा समर्पितहरुको जमात ठूलो भएका कारण मानव हितका निम्ति निर्माणाधिन भवन निर्माण कार्यले सोचे अनुरुप गति लिन सकेको हो भन्ने बुझ्न गार्हो छैन ।
    आइसोलेशन भवन निर्माणका लागि सर्वप्रथम कमलामाई नगरपालिका कार्यालयले ३ लाख रुपैयाँ सहयोग गरेको हो । त्यस पश्चात भदौ २२ गते सोमबार सम्म जम्मा नगद ४८ लाख ५९ हजार ७ सय ४५ रुपैयाँ सहयोग संकलन भएको आइसोलेशन भवन निर्माण समितिका अध्यक्ष अशोक श्रेष्ठले जानाकारी दिनुभयो । ‘नगद रकम संगै जिन्सी सामाग्री सहयोग गर्नेहरु पनि अपेक्षा अनुसार नै आइरहेका छन्’ समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘सबैको सहयोग राम्रैसंग पाइरहेका छौं जसले गर्दा हामीलाई योजना अनुसार काम गर्न सहज भएको छ ।’ प्राप्त भएको जिन्सी सहयोग सामाग्रीलाई अहिले नै नगदीकरण नगर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । संकलन भएका जिन्सी सामाग्रीको स्पष्ट रुपमा अभिलेखि राखिएको र भवन निर्माण कार्य सम्पन्न भएपश्चात खर्च सार्वजनिक गर्नेबेलामा त्यसलाई नगदीकरण गरेर सार्वजनिक गरिने श्रेष्ठको भनाई छ ।
    त्यसो त जिल्लाका सबै स्थानीय तहहरुले आइसोलशन भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् भने कतिपय स्थानीय तहले आर्थिक सहयोग संगै निर्माण सामाग्री समेत उपलव्ध गराएका छन् । कमलामाई नगरपालिकाले ३ लाख रुपैयाँ नगद संगै आइसोलेसन भवन निर्माणको इस्टमेट, प्राबिधिक सहयोग, पानी सप्लाईको लागि ट्याङ्कर लगायत अन्य सहयोग समेत उपलव्ध गराएको छ । त्यस्तै इन्जियर्स फोरम सिन्धुलीले लागत स्टमेट, नक्सांकनका साथै निःशुल्क प्राविधिक सेवा उपलव्ध गराएको छ । जिल्लामा निर्माण हुनलागेको पहिलो आइसोलेसन भवन निर्माणका लागि कमलामाई नगरपालिकाले सबै खालका सहयोग गर्ने स्पष्ट पारेको छ । सुनकोशी गाउँपालिकाले पनि आर्थिक रकम संगै भवन निर्माणका लागि गिट्टी, बालुवा सहयोग गरेको छ । सहयोगकै क्रममा समाजसेवी, संघ संस्था तथा कन्स्ट्रक्सन कम्पनिहरुले ढुंगा, गिट्टी, बालुवा लगायतका अन्य निर्माण सामाग्रीहरु उपलव्ध गराइरहेका छन् ।
    जन्मदिन देखि बैवाहिक वर्ष गाँठसम्मको अवसरमा गरिने फजुल खर्च कटाएर आइसोलेशन भवन निर्माणका लागि सहयोग प्राप्त भएकोमा आफू निकै उत्साहित भएको बागमती प्रदेश सांसद लेखराज दाहाल (राजन) ले बताउनुभयो । त्यस्तै बागमती प्रदेश सांसद प्रदिप कटुवालले पनि सोचे अनुरुप पाएको सहयोगले समयमै निर्माण कार्य सम्पन्न गर्न सहज हुने उल्लेख गर्नुभयो । अब बाँकी अवधिमा २ वटा ब्लकको निर्माण कार्य सम्पन्न गर्न सकिने निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो । आवस्यक भौतिक सामाग्री सबै तयारी अवस्थामा रहेकाले मौसमले साथ दिए योजना गरिएकै समयमा भवन निर्माण सम्पन्न गरिने अध्यक्ष श्रेष्ठको भनाई छ । सिन्धुली अस्पताल सन्चालन तथा व्यवस्थापन समितिले कार्यान्वयन गर्ने गरी २ करोड ५४ लाख २४ हजार ४८७ रुपैयाँको कूल लागतमा आइसोलेशन भवन निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ ।