• आजका युवा भनेका भोलि देशको भविष्य थेग्ने बलियो आधार हुन् । तर यतिले मात्र युवाको जिम्मेवारी पूरा नहोला । भोलि सिंगो राष्ट्रको भविष्य अन्धकार बनाउने या उज्यालोतर्फ लैजाने भन्ने विषयमा युवाहरु आज केहि छिन घोत्लिन्छन भने उनिहरुले आजै आफ्नो सिप, क्षमता र दक्षतामा दखल राख्नुपर्छ । भोलिको सक्षम र विकसित राष्ट्रको सपना पूरा गर्न युवापंक्तिले आज केहि बलिया आधारहरु तयार गर्नैपर्छ ।
    तर वर्तमान त्यस्तो छैन । राजनीतिक दलसंग आवद्ध नभएका युवाहरु पाउन अहिले मुस्किल जस्तै देखिन्छ । पार्टीमा आवद्ध हुनु, नेतृत्वलाई सम्मान गर्नु, सकारात्मक शैली पछ्याउनु र नीति तथा सिद्धान्तप्रति कटिवद्ध हुनु आफैँमा नराम्रो हुँदैहोइन । गलत त त्यतिबेला हुन्छ जतिबेला युवापंक्तिले कुनै एउटा व्यक्तिलाई सर्वस्व मानिरहँदा आफैँ दलदलमा भासिएको पत्तो पाउँदैनन् ।
    भोलि देशको साँचो जिम्मा लिने पनि यिनै युवा नेतृत्व नै हुन् । आज उनिहरुलाई बाटो देखाउने, गाइड गर्ने जस्तो नेतृत्व छ भोलि उनिहरु त्यस्तै हुनेहुन् । आज युवाहरु कसैको बुइ चढाइमा भोलिको आफ्नो भविष्य देखिरहेका छन्, खोजिरहेका छन् । अझ भनौँ उनिहरु स्फूर्त रुपमा कर्म गरिरहेका छैनन्, कुनै दलका नेताको पछि लागेर उनिहरुकै छत्रछायाँमा घुमिरहेका छन् । घुमाइ पनि यस्तो किसिमको देखिएकोछ कि उनिहरु आफू केहि पनि होइनन्, हुन् त केवल कार्यकर्ता । आफूले केहि स्वार्थ पूरा गरेको र केहि अवसर प्राप्त गरेको व्यक्तिको मात्र पछि लागेर केहि थान अनुहारलाई देवत्वकरण गर्दैमा आजको युवा शक्तिले समय बिताउने हो भने भोलि उसकै भविष्य बेठेगान हुने पक्का जस्तै छ ।
    एउटै मन्दिरमा भएका देउताहरुमा एउटालाई पूजा गर्दा अर्काेलाई लात हान्ने भक्त पक्कै पनि सच्चा भक्त हुन सक्दैन । घरभित्रको विवाद सडकमा पुर्याउन लालायित सन्तान सच्चा सन्तान हुन सक्दैन । एउटै पार्टी भित्र पनि केहि थान अनुहारलाई देवता मान्ने र बाँकीलाई दानव समान सोच्ने कार्यकर्ता पार्टीप्रति बफादार हुन सक्दैन । ऊ पार्टीको युवा कार्यकर्ता हुन सक्दैन । तर वर्तमानमा यस्तै दृष्यहरु सडकमा छताछुल्ल पोखिएका छन् । एउटा घरभित्रको विवाद समाधान गर्न जिम्मेवार सन्तानको जस्तो भूमिका हुन्छ, पाटीभित्रको विवाद समाधानमा पनि एउटा जिम्मेवार युवा नेतृत्वको त्यस्तै भूमिका हुनुपर्छ । तर अहिले ठिक विपरित भैरहेको छ । विवाद मिलाएर घर जोगाउनेमा भन्दा युवा शक्ति अहिले व्यक्ति पूजामा होमिएर घर फुटाउनमा आफूलाई महान सम्झिरहेको छ । ढिलो छिटो भन्ने मात्र हो, यो घातक शिद्ध हुने निस्चित नै छ । बेलैमा सहि र गलतको लेखाजोखा गरेर आफ्नो शक्ति, सीप र क्षमता सहि ठाउँमा परिचालन नगर्ने हो भने युवा नेतृत्वको आफ्नै भविष्य घर न घाटको नहोला भन्न सकिन्न । यसरी युवा कार्यकर्ताले व्यक्ति पुजामा मात्र आफ्नो भविष्य खोजिरहने हो भने के उनिहरुले खोजेजस्तो भविष्य भेट्लान त ?